• जेष्ठ १० २०८३, आईतवार

राष्ट्रिय जनगणना- २०७८ को अन्तिम नतिजा आज सार्वजनिक हुँदै

चैत्र १० २०७९, शुक्रबार

काठमाडौँ । राष्ट्रिय जनगणना ०७८ को नतिजा आज (शुक्रबार) सार्वजनिक गरिने भएको छ ।

शुक्रबार बिहान ९:३० मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा सोल्टी होटलमा सार्वजनिक गर्ने कार्यक्रम छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले २५ कात्तिकदेखि ९ मंसिर ०७८ सम्म जनगणना गरेको थियो । कार्यालयले ८० भन्दा धेरै प्रश्नका जवाफ लिएर जनगणना सङ्कलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो । जसअनुसार नेपालको प्रारम्भिक जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० छ ।

सङ्कलित तथ्याङ्क विश्लेषण गरेर दुई महिनाअघि नै जनगणनाको सम्पूर्ण तयारी भए पनि राजनीतिक कारणले रोकिएको थियो । नेपालमा हरेक १० वर्षको अन्तरमा जनगणना गर्ने व्यवस्था र अभ्यास छ ।

जनगणना मुख्यतः देशको जनसाङ्ख्यिक अवस्थाको यथार्थ थाहा पाउन गरिन्छ । देशको सामाजिक अवस्था, आर्थिक स्थिति, घरपरिवारको अवस्था, शिक्षा, स्वास्थ्य, खानेपानी, इन्धनलगायतका आधारभूत आवश्यकतामा नागरिकको पहुँचलगायतका विषय जनगणनामा समेटिन्छन् ।