• जेष्ठ १० २०८३, आईतवार

काठमाडौं प्लाजा भाडामा लिन महानगरपालिका र ट्रष्टबीच १० वर्षे सम्झौता

चैत्र ९ २०७९, बिहीबार

काठमाडौं । काठमाडौं प्लाजा भाडामा लिन काठमाडौं महानगरपालिका र नेपाल ट्रष्टबीच सम्झौता भएको छ । बुधबार नेपाल ट्रष्टका कार्यकारी सचिव सरजुकुमार वैद्यको रोहबारमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षरपछि महानगरका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, मिसिल शाखा, सहकारी विभाग, जिल्ला समन्वय समितिमा रहेका विभाग तत्काल स्थानान्तरण गर्न निर्देशन दिए । सेवा अवरोध नगरी आफ्नो जिम्मेवारीमा रहेका विभागहरुलाई सार्दै जाने योजना रहेको अधिकारीको भनाइ छ ।

सम्झौता बमोजिम प्लाजामा झ्याल, ढोका र लिफ्टसहित विग्रिएका, भत्किएका संरचनाको महानगरले मर्मत गर्नेछ । झ्याल, ढोका र लिफ्ट बनाउँदा लागेको खर्च महानगरले वहाल रकमबाट कटाउनेछ । यसबाहेकका अन्य मर्मत महानगर आफैँले गर्नेछ । बाहिरी संरचनामा कुनै हेरफेर गरिने छैन ।

भवन महानगरले कार्यालय प्रयोजनमा ल्याउनेछ । भवन छोड्नु वा छोड्न लगाउनु परेमा १८० दिन अगावै जानकारी गराउनु पर्नेछ । विजुली पानीलगायत सुविधाको बिल महानगरपालिकाले भुक्तानी गर्नेछ । काबुवाहिरको परिस्थितिबाहेक अन्य टुटफुट महानगरले व्यहोर्नेछ ।

महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार भवनभित्र यस अघि सञ्चालनमा रहेका निरमाया दोहारी र राज घराना भने शिलबन्दी गरिएको छ । ट्रष्टसँगको वहाल लेनदेन नमिलेपछि शिलबन्दी गरिएका यी ठाउँ प्रयोगमा नआएसम्म महानगरले भाडा कटाउने छ ।

यो सम्झौता १० वर्षका लागि हो । ५ वर्षपछि १० प्रतिशतले भाडा वृद्धि हुनेछ ।