काठमाण्डौ। ट्राफिक प्रहरीले भक्तपुरको जगातीमा गरेको विशेष जाँचका क्रममा यान्त्रिक अवस्था ठिक नभएका २३ वटा गाडीका चालक कारबाहीमा परेका छन् ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले एक सय ३० वटाभन्दा धेरै गाडीको जाँच गर्दा ह्यान्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत यान्त्रिक अवस्था ठिक नभएका २३ वटा गाडीका चालकलाई कारबाही गरेको जानकारी दिए।
यान्त्रिक अवस्था ठिक नभएको गाडी चलाउँदा दुर्घटनाको जोखिम बढी हुने भएकोले जाँच गरेको उनले बताए । यान्त्रिक अवस्था ठिक नभएका गाडीको मर्मत गरी तोकिएको जरिबाना तिरेपछि मात्रै प्रहरीले लिएको कागजपत्र फिर्ता गर्ने भट्टले बताए ।