काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा चमत्कारिक सुधार आएको छ । चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराइरहेका पुनको स्वास्थ्यमा चमात्कारिक सुधार देखिएको उनको नीजि सचिवालयले जनाएको छ ।
जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुन व्यथा बल्झिएपछि उपचारका लागि गत १ फागुनमा चीन गएका थिए। ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट निर्वाचित पुन अस्वस्थताका कारण मतदातासमक्ष मत माग्नसमेत जान सकेका थिएनन्। पारिवारिक स्रोतका अनुसार पुनको स्वास्थ्यमा चमत्कारिक सुधार भएको छ।
उनको शरीरमा जण्डिशको मात्रा (बिलरुबिन) ४० बाट घटेर ३.५ बिन्दुमा झरेको छ। सामान्य मानिसमा बिलरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने चिकित्सकहरु बताउँछन्।
तर, पुनको शरीरमा कम्तिमा बिलरुबिनको मात्रा ११ देखि १२ सम्म हुने गरेको छ। स्वास्थ्यमा चमत्कारिक सुधार भइरहे पनि चिकित्सकले बिलरुबिनको मात्रा २ बिन्दुमा झारेपछि मात्र नेपाल फर्कन भनेको परिवारका सदस्यहरुले जानकारी दिएका छन्। पुनको साथमा पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती छिन्।