• बैशाख २७ २०८३, आईतवार

प्रधानमन्त्रीले विश्वासको मत लिदाँ यि सांसदहरु अनुपस्थित रहे

चैत्र ६ २०७९, सोमबार

काठमाडौं । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक विश्वासको मत लिए ।

पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले सोमबार दोस्रोपटक विश्वासको मत लिदाँ संसदमा २६२ जना सांसद उपस्थित थिए । ति मध्ये १७२ जनाले प्रधानमन्त्रीलाई विश्वासको मत दिए भने ८९ जना विपक्षमा उभिए । एक जनाले कतै पनि मतदान दिएनन् ।

पहिलोपटक उनले फागुन २६ गते विश्वासको मत लिएका थिए। तर प्रचण्डले नयाँ गठबन्धन बनाएपछि तत्कालीन सत्तासाझेदार एमाले लगायतका दलले समर्थन फिर्ता लिएपछि सोमबार पुन: विश्वासको मत लिएका हुन् ।

प्रतिनिधि सभाका २७५ जना सांसदमध्ये पाँचवटा रिक्त छ । यस्तै सात जना भने विश्वासको मत लिँदा उपस्थित भएनन् । देवराज घिमिरे सभामुख भएकाले उनले विश्वासको मत दिएनन् । यस्तै कांग्रेस सांसद चन्द्र भण्डारी उपचारका क्रममा मुम्बईमा उपचाररत छन् । यस्तै माओवादी केन्द्रका वर्षमान पुन पनि चीनमा उपचाररत छन् ।

एमालेका लक्ष्मी महतो कोइरी भने ज्यान मुद्दाका कारण फरार रहेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन भने आफ्नो भनाइ राखेर निस्किएका थिए । उनले विश्वासको मत विभाजनमा भाग लिएनन् । कांग्रेस सांसद मनोरमा शेरचन, स्वतन्त्र सांसद योगेन्द्र मण्डल र एमालेकी शान्ति चौधरी भने अनुपस्थित थिए ।

रामचन्द्र पौडेल र रामसहाय यादव भने राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित भएपछि उनीहरुको क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन हुँदैछ । यस्तै नागरिकता प्रकरणका कारण सांसद पद खारेज भएका रविलामिछानेको क्षेत्रमा पनि उपनिर्वाचन हुँदैछ। यता भ्रष्टाचार मुद्दा ठहर भएका कांग्रेस सांसद टेकबहादुर गुरुङ भने निलम्बनमा छन् ।