काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान गठबन्धन र सरकार विधि र प्रक्रिया अनुसार नै अघि बढेको जवाफ दिएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा आफुले पेस गरेको विश्वासको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले गठबन्धन गरेर लोकतन्त्रको नयाँ अभ्यास गरिरहेको भन्दै नेकपा विभाजन र संसद विघटनको गम्भीर समीक्षा गर्न एमाले अध्यक्ष केपी ओलीलाई चुनौती दिए ।
उनले गठबन्धन बदलेको बारे एमाले उपाध्यक्ष विष्णु पौडेलले जवाफ मागेको भन्दै पौडेल आफै उपप्रधानमन्त्री भएकाले जवाफ दिन आग्रह गरे । पुस १० को गठबन्धन बनाउन एमालेले नै बोलाएकाले नै आफू खोज्दै त्यहाँ नगएको पनि बताए ।
‘म यतै बल गर्दै थिएँ, म खोज्दै गएको भन्ने सत्य होइन’, दाहालले भने, ‘कांग्रेसलाई के के भन्नुभयो, बाइ द वे म गएँ ।’
दाहालले आफूले केपी ओलीलाई दुई पटक प्रधानमन्त्री बनाएको पनि बताए ।
‘मैले तपाईंलाई दुईचोटी प्रधानमन्त्री बनाएको थिएँ, तपाईंले मलाई ब्याज दिनुपर्ने थियो, ऋण तिर्नुपर्ने थियो । तपाईंले तिर्नुभयो । एउटा त तिर्नुभयो अझै एउटा बाँकी छ हिसाब राख्नुस्’, प्रधानमन्त्री दाहालको भनाइ छ ।
उनले अराजक ढंगले अघि बढेको भन्न नमिल्ने पनि बताए । ‘हामी विधि र संविधान अन्तर्गत नै अघि बढेका छौं’, प्रधानमन्त्री दाहालले भने, ‘शान्ति सम्झौता भित्रै रहेर यहाँसम्म आएका छौं । राष्ट्रको हित र शान्तिका लागि हो ।’
उनले संविधान निर्माणपछि विचार मिल्ने दलहरु एक भएर अघि बढ्न सके विकास निर्माण र सम्मृद्धिले गति लिने अपेक्षासहित आफै प्रस्तावक भएर निर्वाचनमा गएको बताए । तर त्यो प्रस्ताव जनता र कार्यकर्ताबाट अनुमोदित भएपनि नेताको तहबाट अनुमोदित हुन नसकेको बताए ।