काठमाडौं । सत्तारुढ गठबन्धनका १० दल संक्रमणकालीन न्याय र संवैधानिक परिषद सम्बन्धी विधेयक फास्ट ट्र्याकमा अघि बढाउन सहमत भएका छन् ।
भोलि आइतबार दिउँसो १ बजे बस्ने संसद बैठकमा संवैधानिक परिषद सम्बन्धी विधेयक र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक पेश गर्ने तयारी छ । त्यसको अघिल्लो दिन शनिबार बालुवाटारमा बसेको १० दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुबै विधेयक छिटो अगाडि बढाउन सहयोग मागेका थिए ।
उनले कसरी फास्ट ट्र्याकबाट विधेयक अगाडि बढाउन सकिन्छ भनेर सुझाव मागेका थिए । दलहरुले नेकपा एमालेसँग पनि परामर्श गर्न र सभामुखले बोलाउने कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्न सुझाव दिएका छन् ।
‘दुबै विधेयक फस्ट ट्र्याकबाट गरौं, समितिमा पठाउनु भन्दा संसदमा छलफल गरेर अघि बढाऔं भन्नेमा हामी सबैको सहमति छ’, लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्लले भने, ‘हामीले नागरिकता, संघीय निजामती लगायतका विधेयकलाई पनि टेबल गरौं भनेका छौं ।’
बैठकमा प्रधानमन्त्री प्रचण्डले ६ गते आफूले विश्वासको मत लिन लागेको भन्दै सहयोगका लागि समेत आग्रह गरेका छन् । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमै विश्वासको मत लिएका थिए तर सरकार गठनका क्रममा भएको सहमति विपरीत प्रधानमन्त्रीले राष्ट्रपतिमा कांग्रेसलाई साथ दिएपछि नेकपा एमाले र राप्रपाले समर्थन फिर्ता लिएर सरकार छाडेको छ ।