• बैशाख २७ २०८३, आईतवार

द्वन्द्वकालीन मुद्दा कुनै एउटा दलको मात्रै विषय होइन : रमेश लेखक

चैत्र ४ २०७९, शनिबार

काठमाडौं । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बेपत्ता पारिएका व्यक्ति र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक कुनै एक राजनीतिक दलको मात्रै विषय वस्तु नरहेको बताएका छन् ।

शनिवार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले बैठकमा बेपत्ता पारिएका व्यक्ति र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक कुनै एक राजनीतिक दलको मात्रै नभइ राष्ट्रिय विषय भएकाले सबै राजनीतिक दलहरु मिलेर अघि बढाउन आवश्यक रहेको बताए ।

उनले बैठकमा संसदलाई बढी भन्दा बढी बिजनेस दिनुपर्ने कुरामा छलफल भएको बताए । उनले आइतबार बस्ने संसदको बैठकमा बेपत्ता, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक, संवैधानिक परिषदको कार्यविधि सम्बन्धी विधेयक प्रस्तुत हुने पनि बताए ।

लेखकले भने, ‘संसदलाई बढी भन्दा बढी बिजनेस दिनुपर्यो भन्नेकुरा भएको छ । भोलिको संसदमा केही महत्वपूणर् विधेयक आउँछन्, त्यसलाई अघि बढाउनुपर्छ । व्यक्ति बेपत्ता, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक अघि बढ्दैछ, संवैधानिक परिषदको कार्यविधि सम्बन्धी विधेयक अघि बढ्दैछ, प्रतिनिधिसभा नियमावलीलाई सैद्धान्तिक छलफल गरी संशोधन आह्वान गर्ने कुरा भएको छ । बेपत्ता पारिएका व्यक्ति र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयकमा राजनीतिक दल विशेषको विषय होइन, यो राष्ट्रिय विषय हो । राजनीतिक दलका विषयमा मतान्तर छैनन् । कुनै विषयवस्तुमा कस्तो गर्ने भन्ने विषय छन्, त्यसमा छलफल गर्न सकिन्छ ।’