• बैशाख २७ २०८३, आईतवार

गल्ती स्वीकार नगर्नेसित पार्टी एकता गरिँदैन : माधव नेपाल

चैत्र ४ २०७९, शनिबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको बताएका छन् ।

शनिबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित पार्टीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । अध्यक्ष नेपालले भने, ‘आफ्नो गल्ती महसुस नगर्ने, गल्ती स्वीकार गर्न नसक्नेहरूसँग गठबन्धन हुन सक्दैन ।’

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले गणतन्त्र जोगाउँदै संविधानको रक्षा गर्न विचार मिल्ने पार्टीबीच अहिलेको गठबन्धन बनेको उल्लेख गर्दै अझै पनि नेपालमा कम्युनिष्टहरु लोकप्रिय रहेकाले विचार मिल्नेहरुसँग गठबन्धन हुनसक्ने बताए ।
उनले देशको आर्थिक अवस्था सुधारका लागि विचार मिल्ने पार्टीबीच एकता हुनसक्ने समेत बताए ।

अध्यक्ष नेपालले भने-‘देशको वर्तमान अवस्थालाई ध्यानमा राखी अहिलेको गठबन्धन बनेको हो । संविधानको रक्षा, देशको अर्थतन्त्रको सुधार अहिलेको गठबन्धनमा आबद्ध दलहरूको साझा एजेन्डा हो ।’ कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसाल लगायतका नेता र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।