काठमाडौं । नेपाली सेनाले सैनिक अनुशासन उल्लंघन गरेको आरोपमा आफ्ना तीन उच्च अधिकारीलाई कारबाही गरेको छ । सेनाले उनीहरुलाई जरिवाना तथा सजायसहितको कारबाही गरेको हो ।
सजाय पाउनेमा एक उपरथी (जर्नेल), एक महासेनानी (कर्णेल) र एक प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) छन् । उपरथी प्रेम शाही, महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमिल्सिनालाई सैनिक अनुशासन उल्लंघन आरोपमा कारबाही गरिएको हो ।
शाहीमाथि पदको दुरुपयोग गरेर १५ करोड रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोप लागेको थियो । उनलाई भविष्यमा अयोग्य नठहरिने गरी २७ लाख नगद जरिवाना, सैनिक कल्याणकारी कोषबाट संचालित संस्थाहरुबाट कुनै पनि कल्याणकारी सेवा, सुविधा नपाउने, पेन्सन पट्टा बनाउँदा पट्टामा सैनिक पोशाक अंकित तस्बिर राख्न नपाउने गरी कारबाही भएको छ । उनले अवकासपछि नेपाली सेनाका रथी वृन्दले पाउने अन्य सेवाबाट पनि वञ्चित हुनुपर्नेछ ।
उनीहरुविरुद्ध सेनाका उपरथी (डीजीएमटी) प्रमुख बाबुराम श्रेष्ठको नेतृत्वको कोर्ट अफ इन्क्वायरीको छानविन समितिले कारबाहीका लागि सिफारिस गरेको थियो । उपरथी तारध्वज पाण्डेको नेतृत्वमा गठित कोर्टमार्शल कमिटीले शाहीलाई नगद दण्ड समेत र बाँकी दुई जनालाई दुई वर्षका लागि बढुवा रोक्ने निर्णय गरेको हो ।