काठमाडौं । भरूवा बन्दुक पड्किँदा सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सोमबार बेलुका बनगाड नगरपालिका–९ स्वाराका ४० बर्षीय आइते रावतले बोकेको भरुवा बन्दुक पड्किँदा उनका भतिजा १६ वर्षीय चित्रबहादुर रावतको मृत्यु भएको हो ।
काका–भतिजा सोमबार बेलुका सिकार खेल्न भरुवा बन्दुकसहित नजिकैको बाहुनडाँडा जंगलमा गएका थिए । आइते रावतले बोकेको उक्त बन्दुक पड्किँदा चित्रबहादुरको पेट र घाँटीमा गोली लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार अन्दाजी ५ बजेतिर उक्त घटना भएको थियो । घटना लगत्तै चित्रबहादुरलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको थियो । उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमा ओरघाट भन्ने ठाउँमा मृत्यु भएको प्रहरी निरीक्षक खनालले जानकारी दिए ।
‘घटना भएपछि अस्पताल लिन खोज्दा बाटोमै मृत्यु भएको रहेछ, मृत्यु भएपछि पुनः घरमै फर्काइएको थियो,’ खनालले भने, ‘प्रहरीलाई भने धेरै पछि राति खबर आएको हो ।’
बन्दुक बोकेका काका नाता पर्ने आइते रावतलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ । घटनापछि फरार भएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खनालले बताए ।