• बैशाख २७ २०८३, आईतवार

मातृका यादवद्वारा प्रदेश कमिटीको बैठक बहिस्कार

फाल्गुन ३० २०७९, मंगलवार

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव मातृका यादवले प्रदेश कमिटीको बैठक बहिस्कार गरेका छन् । माओवादी मधेस प्रदेश कमिटीको तीन दिन चलेको बैठकमा यादव बैठकमा अनुपस्थित भएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा गत शुक्रबारदेखि तीन दिनसम्म चलेको बैठकमा यादव सहभागी नभएका हुन् । मधेस प्रदेशमा विवाद हुँदा प्रदेश कमिटी समेत बन्न सकेको छैन । प्रदेशका इन्चार्ज गणेश साह मात्रै छन् भने अरू सदस्य मात्रै राखिएको छ ।

अधिकांश जिल्ला र स्थानीय तहमा नेतृत्व नहुँदा माओवादी कमजोर भएको छ । जसले गर्दा सङ्घीय संसद्मा शून्य भयो भने प्रदेश र स्थानीय तहमा निक्कै कमजोर हुन पुग्यो ।

अहिले मधेस प्रदेशको विवाद हुँदा २ महिने अभियान समेत प्रभावकारी हुन सकेको छैन । पार्टीको २ महिने पार्टी विस्तार र सङ्गठन सुदृढीकरण अभियान चलाएपछि प्रदेश सहित जिल्ला र स्थानीय तह कमिटीलाई पूर्णता दिने तयारी गरिएको छ ।

मधेस प्रदेश कमिटीको बैठकमा पार्टीका पदाधिकारी सहित स्थायी समिति, केन्द्रीय सदस्य र प्रदेश सदस्यहरू सहभागी भएका थिए । तर, बैठकमा यादव सहभागी नभएपछि प्रधानमन्त्री प्रचण्डले समेत आक्रोश पोखेको एक नेताले बताए । मधेसको विवाद समाधान होला भनेर राखिएको बैठकमा यादव सहभागी नभएपछि प्रचण्ड चिढिएका हुन् । मधेसमा गिरिराजमणि पोखरेल र यादवबिच विवाद हुँदा पार्टी कमजोर भएको छ ।