• जेष्ठ ९ २०८३, शनिबार

आठ जिल्लामा आगलानीको घटना- करोडौँको धनमाल जलेर नष्ट (विवरणसहित)

फाल्गुन २९ २०७९, सोमबार

काठमाडौं । सुनसरी, दुहबी नगरपालिका-८ सोनापुरस्थित अरिहन्त पोली प्याक फ्याक्ट्रीमा रहेको जेनेरेटरको लाईन सर्ट भई आइतबार साँझ आगलागी हुँदा जेनेरेटर पूर्णरूपमा जलेर करिब ८० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कैलाली, लम्कीचुहा नगरपालिका-९ प्रतापपुर बस्ने ३६ वर्षीय जित बहादुर चौधरीको इलेक्ट्रोनिक पसलमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा पसलमा राखेको से. ३ प ९२४७ नम्बरको मोटरसाइकल र सोही ठाउँ बस्ने नवराज चौलागाईको मोबाईल ग्यालरीसमेत जलेर करिब ३० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-८ बस्ने कृष्ण केसीको केसी ईलेक्टोनिक सेन्टरमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा नगद १५ हजार रुपैयाँ, मोबाइल, ईलोक्ट्रोनिक जग लगायतका सामान गरी करिब २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

तेह्रथुम, आठराई गाउँपालिका-५ होडास्थित भुल्के सुपाडे सामुदायिक वनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने टेक बहादुर राई समेत तीन जनाको घरमा आइतबार दिउँसो आगलागी हुँदा करिब ११ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी तेह्रथुम, छथर गाउँपालिका-५ स्थित थरतप्पा सामुदायिक वनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने उपेन्द्र बस्नेतको घर, काठपात, अन्नबाली र छत्र बहादुर कार्कीको घर तथा गोठमा समेत आइतबार दिउँसो आगलागी हुँदा करिब ६ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

पाँचथर, कुम्मायक गाउँपालिका-५ लोरीपास्थित सामुदायिक जंगलमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने अमृत थापाको घरमा आइतबार दिउँसो आगलागी हुँदा करिब ८ लाख रुपयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

भक्तपुर, चाँगुनारायण नगरपालिका-२ झौखेल लाखाजु टोलमा पार्किङ गरी राखेको सोही ठाउँ बस्ने गोपी थापाको बा. १३ च २५ नम्बरको गाडीमा आइतबार राति आगलागी हुँदा गाडीको सिट र ईन्जिन जलेर करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-१० तिङ्ग्राङ खानीस्थित सडकमा धादिङबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७७३६ नम्बरको खाली ट्रकमा वायरिङ सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा ट्रक पूर्णरुपमा जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।