काठमाडौं । काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसबाट खुकुरीसहित एकजना विद्यार्थी नेता पक्राउ परेका छन् । शनिबार दिउसो भएको विवादका क्रममा खुकुरी निकालेर आतंक मच्चाउने विद्यार्थी नेता मनोज चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।
स्ववियु निर्वाचनको मनोनयन दर्ताको विषयलाई लिएर विवाद हुने क्रममा बैतडीको मेलौली नगरपालिका-३ घर भएका चन्दले खुकुरी निकालेर आतंक मच्चाएका थिए । उनी एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियुमा आबद्ध रहेको बताइएको छ ।
घटनाको सम्बन्धमा प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । आरआर क्याम्पसमा खुकुरी आतंक मच्चाइएको विषय अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।