काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति निर्वाचनमा १० दलीय गठबन्धनले जालझेल गर्न खोजेको आरोप लगाएका छन् ।
शनिबार ललितपुरमा आयोजित अखिल नेपाल महिला संघ सातौँ राष्ट्रिय सम्मेलन आयोजक समितिको चौथो विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रपति र उपराष्ट्रपति फरक-फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि गठबन्धनले फरक समुदायको भनेर पुरुष नै उम्मेदवारी दिएर जालझेल गरेको बताएका हुन् ।
उनले भने-‘हामीले अहिलेको संविधानमा ३३ प्रतिशत महिला र धेरै ठाउँमा, ७५३ वटा पालिकामा अल्टरनेट गर्नुपर्ने प्रमुख/उपप्रमुख । यो गरेका छौँ । सभामुख, उपसभामुखमा अल्टरनेट हुनुपर्ने । राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्षमा अल्टरनेट हुनुपर्ने । अब राष्ट्रपतिमा समस्या आइराखेको छ । राष्ट्रपति, उपराष्ट्रपति अल्टरनेट हुनुपर्ने कि नपर्ने भन्दा दश दलीय गठबन्धन जुन छ, त्यो त महिला विरोधी छ । स्थानीय तह निर्वाचनमा पनि उनीहरूले कानुन छले । त्यो कानुन छलेको कुरो कमसेकम राजनीति र राजनीतिक अनुहार फैसलामा नहेर्ने हाम्रा न्यायिक निकायहरू वा निर्वाचन आयोग भएको भए त्यो कुरा सदर हुन सक्दैनथ्यो तर त्यस्तो भइदिएन । संविधानले एउटा, एउटा हुनै पर्ने भनेपछि नभएर हुन्छ ? गर्नै पर्छ नि । अब आजसम्म पनि दश दलीय गठबन्धन जालझेल गर्न खोजिराखेको छ । अर्को समुदाय भनेर । यसको मर्म अर्को समुदायसँग होइन खासमा । पुरुष हुन्छ भने महिला । महिला हुन्छ भने महिला हुन सक्थ्यो तर त्यो कुरा स्पष्ट भएन संविधानमा । महिला राष्ट्रपति भयो भने उपराष्ट्रपति महिला हुन नसक्ने भन्ने कुरा होइन तर अहिलेको अवस्थामा त्यो सम्भव होइन कि जस्तो संवैधानिक व्यवस्था देखिन्छ ।’