• जेष्ठ ९ २०८३, शनिबार

छुवाछुतको घटनामा संलग्न गाउँपालिका अध्यक्ष उग्रनारायणलाई कारवाही गर्न माग

फाल्गुन २६ २०७९, शुक्रबार

काठमाडौं । विभिन्न राजनीतिक दल निकट भ्रातृ संगठन र दलित संघ/संस्थाहरूले सिराहा जिल्लामा भएको छुवाछुत सम्बन्धी घटनामा संलग्न गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाही गर्न माग गरेका छन् ।

माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा, नेपाली कांग्रेस निकट दलित सेवा सङ्घ, एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेकपा एस निकट नेपाल दलित मुक्ति सङ्गठन र जातीय समता समाज लगायत दश वटा सङ्घ/संस्थाले आज संयुक्त विज्ञप्तिमार्फत सत्यतथ्य छानबिन गरी घटनामा संलग्न उनलाई नियन्त्रणमा लिई कानून बमोजिम कारबाही गर्न माग गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष यादवले आफ्नो आमाको निधनपछि १३औं दिनको पुन्य तिथिको दिन यही फागुन २२ गते आयोजना गरिएको ‘किरिया भोजमा’ दलित र गैरदलितको लागि अलगअलग साइन बोर्ड टाँसी अलग लाइन बनाएर दलित समुदायमाथि जातीय छुवाछुत तथा भेदभावको अमानवीय व्यवहार गरेको ती सङ्घ/सङ्गठनको भनाइ छ ।

‘सार्वजनिक पद धारण गरेका व्यक्ति उपस्थित भएको स्थानमा जातीय छुवाछुतलाई संस्थागत रूपमा संरक्षण गर्ने गरी घटाइएका यस घटनाको हामी घोर भत्र्सना गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी राष्ट्रिय दलित आयोग र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठान लगायतका दलित सङ्घ/सङ्गठनले पनि विज्ञप्ति जारी गरी सो घटनाको भत्र्सना गरेका छन् ।

ती सङ्घ/संस्थाले घटनाको स्थलगत अध्ययन गरी आवश्यक पहल गर्न राष्ट्रिय मानव अधिकार आयोग, मानवअधिकार समुदाय तथा न्याय प्रेमी नागरिक समाजलाई अपिलसमेत गरेका छन् ।