काठमाडौं । राष्ट्रपति निर्वाचित भएलगत्तै शनिबार निर्वाचन आयोगले उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता आह्वान गरेको छ । आसन्न चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि आयोगले दलहरूबाट उम्मेदवार मनोनयन दर्ता आह्वान गरेको हो ।
आयोगले गरेको आह्वानसँगै दलहरू संघन छलफलमा जुटेका छन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, रास्वपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टी लगायतका दलहरू छलफलमा जुटेका हुन् । यी दलका शीर्ष नेताहरूले कसलाई र कुन समुदायबाट उम्मेदवार छनोट गर्नेबारे घनिभूत छलफल गरिरहेको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत बताउँछन् ।
त्यस्तै प्रतिपक्षी दल एमालेले पनि उपराष्ट्रपति पदका लागि उम्मेदवार खडा गर्ने उदघोष गरिसकेको छ । उक्त पदमा कसलाई उम्मेदवार उठाउने भन्ने विषयमा पार्टी सचिवालय बैठक बसेको छ । तर, यो समाचार तयार पार्दासम्म एमालेले कुनै उम्मेदवार छनोट गर्न सकेको छैन ।
राष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ बसेकोले उपराष्ट्रपतिको निर्वाचनमा पनि तटस्थ बस्ने संकेत गरेको छ । रास्वपाले भने राष्ट्रपतिमा रामचन्द्र पौडेललाई भोट गरेकोले उपराष्ट्रपति पदमा आफ्नो उम्मेदवार खडा नगरे पनि भोट गर्ने निश्चित जस्तै छ ।
यद्यपि राष्ट्रपतिमा कांग्रेसबाट पौडेल, निर्वाचित भईसकेका छन् भने माओवादी केन्द्रले प्रधानमन्त्री पाईसकेको छ । उप्रान्त यी दुई दल बाहेक अन्य दलहरूले उपराष्ट्रपति पदका लागि दाबी गर्नेछन् ।
राष्ट्रपति निर्वाचन हुनु अगावै आठ दलीय बैठक बसेको थियो । उक्त बैठकले जसपाबाट उपराष्ट्रपति पदका लागि उम्मेदवार खडा गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार जसपाले उपराष्ट्रपतिमा दाबी गरेको छ । उसले पार्टी संसदीय दलका नेता रामसहाय प्रसाद यादवलाई उम्मेदवार उठाउने निर्णय गरेको छ ।
नाउपाले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेपनि उनी अयोग्य भएकी छन् । संविधान बमोजिम उपराष्ट्रपति पदको उम्मेदवारका लागि ४५ वर्ष पुगेको हुनुपर्छ । तर, श्रेष्ठ ४० वर्ष पनि पुगेकि छैनन् । यसर्थ उनी उपराष्ट्रपति पदमा अयोग्य ठहरिएकी हुन् । तर पनि उसले विकल्प खोजिरहेको छ ।
उपराष्ट्रपति पदमा कसलाई र कुन दलबाट उम्मेदवार खडा गर्ने भन्नेबारे केही समयअघि बालुवाटारमा नौ दलीय गठबन्धनको बैठक बसेको थियो । उक्त बैठकले उम्मेदवार टुंग्याउन सकेन । उम्मेदवार छनोट गर्न हम्मेहम्मे परेपछि विनानिष्कर्ष बैठक टुंगियो ।
तथापि नौ गठबन्धन दलभित्रै उपराष्ट्रपतिको उम्मेदवारबारे विवाद हुने देखिन्छ । उपराष्ट्रपतिमा विशेषतः जसपा, जनमत पार्टी र नाउपाले दाबी गरेको स्रोत बताउँछ । तर, शीर्ष दलका शीर्षस्थ नेताहरू नै यी दलप्रति अनुदार भएको जनमत पार्टीले गुनासो गर्दै आएको छ ।
जनमत पार्टीले जसपालाई उपराष्ट्रपति दिएमा आफूलाई मधेस प्रदेशको मुख्यमन्त्री दिनुपर्ने माग राख्दै आएको छ । तर एमाले–माओवादी केन्द्रको गठबन्धन सरकार हुँदा मधेस प्रदेशमा जसपाले मुख्यमन्त्री पाएको थियो । सो पदमा अन्य दलभन्दा मधेस केन्द्रित दलहरू जसपा, लोसपा, जनमत पार्टी र नाउपाको आपसी विवाद हुने देखिन्छ ।
उता निर्वाचन आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै उपराष्ट्रपतिमा महिला हुनुपर्ने संकेत गरेको छ । दलहरुले भने असन्तुष्टि जनाउँदै त्यसलाई संशोधन गर्नपर्ने आयोगलाई आग्रह गरेका छन् ।
आयोगले निर्वाचन कानुन अनुसार नभएकाले दलहरूको आग्रह स्वीकार गर्न नसकिने बताएको छ । राष्ट्रपतिमा पुरुष र खसआर्य समुदायबाट निर्वाचित भइसकेकोले उपराष्ट्रपति फरक लिंग र समुदायको हुनुपर्ने आयोगको अडान छ ।
संविधानले फरक समुदाय भएका पुरुषले पनि उपराष्ट्रपतिको उम्मेदवारी दिन पाउने व्यवस्था गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा १६ (५) मा उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिंग वा समुदायको हो सोभन्दा फरक लिंग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्ने उल्लेख छ ।
नेपालको संविधान २०७२ को धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग वा समुदायको हुने व्यवस्था उल्लेख छ ।