काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि बिहीबार (भोलि) मतदान हुँदैछ ।
राष्ट्रपतिको निर्वाचनअन्तर्गत भोलि बिहान १० बजेदेखि तीन बजेसम्म मतदानको समय तोकिएको छ । भोलि बेलुका सात बजेसम्म निर्वाचनको नतिजा सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
काठमाडौंको नयाँवानेश्वरस्थित संसद् भवनको ल्होत्सेहल मतदान हुनेछ । राष्ट्रपति निर्वाचनका लागि दुई वटा मतदान केन्द्र तोकिएको छ । केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेश सांसदले मत खसाल्ने छन् । राष्ट्रपति निर्वाचनमा प्रदेशका ५५० र संघीय संसद्का ३३२ गरी कुल ८८२ जना मतदाता रहेका छन् । राष्ट्रपति निर्वाचनमा प्रदेश सांसदको ४८ र संघीय सांसदको ७९ मतभार गणना हुन्छ ।
राष्ट्रपतिमा ८ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार रहेका छन् ।