• जेष्ठ ९ २०८३, शनिबार

काठमाडौं महानगरका सबै वडाबाट निःशुल्क कानुनी परामर्श सेवा

फाल्गुन २४ २०७९, बुधबार

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले सबै वडाबाट निःशुल्क कानुनी परामर्श सेवा उपलब्ध गराउने भएको छ । आगामी चैत १ गतेदेखि ३२ वटै वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा उपलब्ध गराउने तयारी स्वरुप हाल सबै वडा कार्यालयको अवलोकन गरी स्थान तय गर्ने काम भइरहेको छ ।

महानगरपालिकाले नेपाल ल क्याम्पससँगको सहकार्यमा गर्न लागेको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । परामर्श सेवा उपलब्ध गराउन ल क्याम्पसमा अध्ययनरत ५० विद्यर्थीलाई तालिम प्रदान गरिएको छ । उनीहरू वडा कार्यालयमा स्थापना गरिने हेल्प डेस्कमा कार्यालय अवधिभरि रहनेछन् ।  आवश्यकताअनुसार लिखित, मौखिक तथा दुवै किसिमको सेवा निःशुल्क प्राप्त गर्न सक्ने बताउँदै क्याम्पसले एलएलएम, एलएलबी तथा बीए एलएलबीमा अध्ययनरत विद्यार्थीलाई पठाउने तयारी गरेको आचार्यले बताए ।

त्यसैगरी मौखिक कानुनी परामर्शसँगै कार्यालयबाट सेवा प्रवाहबारे जानकारी दिनुपर्नेछ । विशेषतः सहजरूपमा कार्यालय पुग्न नसक्ने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलगायत अत्यावश्यक सेवा प्रवाहमा ध्यान दिनुपर्नेछ ।

निःशुल्क सेवा उपलब्ध गराएबापत महानगरपालिकाले क्याम्पसबाट तोकिएका व्यक्तिका लागि मासिक १५ हजार उपलब्ध गराउनुपर्ने छ । त्यस्तै सेवा दिनका लागि आवश्यक पर्ने शैक्षिक सामग्री पनि महानगरपालिकाले नै उपलब्ध गराउनुपर्नेछ ।