काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन् ।
११३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महिला दिदी बहिनीमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको उल्लेख गरे ।
“सहरदेखि दूरदराजका गाउँमा महिला आज पनि शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन् । महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता हो”, सभापति देउवाको शुभकामना सन्देशमा उल्लेख छ ।
हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा भएको उल्लेख गर्दै सभापति देउवाले हिंसा मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधकसमेत भएको र सामाजिक एकता तथा सद्भावलाई कमजोर बनाउने कारण पनि भएको उल्लेख गरे । कांग्रेस सबै किसिमका हिंसाको अन्त्य चाहन्छ भन्दै उहाँले महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन दिवसले सहयोग पु¥याउने उहाँले विश्वास व्यक्त गरे ।