काठमाडौं । राष्ट्रपतिको निर्वाचन हुन उप्रान्त चारदिन बाँकी रहँदा राप्रपा, रास्वपा र लोसपालाई कांग्रेस र माओवादी केन्द्रले फकाउँदै आएको छ । राष्ट्रपतिमा आठ दलीय गठबन्धनका साझा तथा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट गर्न तीन दललाई दुई दलले फकाइरहेको स्रोत बताउँछ ।
पौडेललाई राष्ट्रपतिमा विजयी गराउन कांग्रेस र माओवादी केन्द्रको दौडधुप चलिरहेको छ । यी दलका नेताले एमाले बाहेकका अन्य दलका शीर्ष नेताहरूसँग दैनिक जसो भेटघाट, छलफललाई निरन्तरता दिइरहेको बुझिएको छ । उनीहरूले विशेष गरी राप्रपा, रास्वपा र लोसपाका नेतालाई पौडेलको पक्षमा भोट गर्न आग्रह गरेको लोसपा कार्यकारिणी सदस्य केशव झाले बताए ।
झाका अनुसार, ‘कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरू पार्टी कार्यालय, वा नेताको घरमै पुगेर भोट माग्न थालेका छन् । उनीहरूले समयको कुनै प्रवाह नगरी जतिबेला पनि हामीलाई भेट्नुहुन्छ । हामीले भेट पनि नगरेका होइनौँ । तर, हाम्रो पार्टीले राष्ट्रपति उम्मेदवारको हकमा कुनै निर्णय गरेको छैन । यस विषयमा सम्भवतः केही दिनमा पार्टीको बैठक बस्छ र अन्तिम निर्णय हुन्छ ।’
त्यस्तै रास्वपाका नेताहरूसँग पनि कांग्रेसका नेताहरूले भेटघाटलाई तीव्रता दिएको बुझिएको छ । रास्वपा प्रवक्ता डा.मुकुल ढकालले कांग्रेसका नेताले आफूहरूलाई भेटेको प्रस्ट्याए पनि किटान भने गरेनन् । तर, भेटवार्ता, छलफल र टेलिफोन संवाद निरन्तर भइरहेको ढकाल स्विकार्छन् ।
राष्ट्रपतिका उम्मेदवार पौडेलले केही साताअघि कार्यालयमै पुगेर रास्वपा सभापति रवि लामिछानेलाई भेटेका थिए । भेटमा उनले राष्ट्रपतिमा आफूलाई भोट गर्न आग्रह गरेका थिए । रविले पार्टीको निर्णय पश्चात् मात्रै यस विषयमा जवाफ दिने बताएका थिए ।
त्यसैगरी राप्रपासँग पनि कांग्रेसले संवाद बढाएको छ । यद्यपि उसले लोसपा, रास्वपासँग जस्तो गरेर संवाद अघि नबढाएको पाइएको छ । जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाही भन्छन्, ‘राष्ट्रपतिमा आठै दलका नेताहरूले हामीसँग भोट माग्नु अन्यथा होइन । दलीय प्रणालीमा दलीय सम्बन्ध भनेकै यस्तै बेला समधुर पनि हुन्छ । तीक्तता पनि बढ्छ । तर, कांग्रेस र माओवादी केन्द्रका केही नेता साथीहरूले हाम्रा नेता साथीसँग भेट्नु भयो होला । तर, औपचारिक भेट भने कोहीँ कसैसँग भएको छैन ।’
लोसपा, रास्वपा र राप्रपा मौन किन ?
राष्ट्रपति निर्वाचनको सरगर्मी बढ्दा तीन दल मौनजस्तै देखिएका छन् । यी दलका आ–आफ्नै स्वार्थका कारण मौनता साध्दै आएको राजनीतिक वृत्तमा चर्चा छ ।
लोसपाले मौनता साध्नुको कारण यसअघि अध्यक्ष महन्थ ठाकुरलाई पार्टीले राष्ट्रपतिमा अघि सारेको थियो । यस विषयमा कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका दलहरूसँग औपचारिक संवाद पनि अघि बढाएको थियो ।
तर, ठाकुरप्रति कुनै दल सकारात्मक नदेखिएपछि उनी राष्ट्रपतिको उम्मेदवारबाट पछि हटेका थिए । त्यसयता लोसपाले राष्ट्रपति उम्मेदवारद्वय पौडेल र नेम्वाङप्रति कुनै चासो देखाएको छैन भने उसले हालसम्म औपचारिक निर्णय समेत गरेको छैन ।
त्यस्तै रास्वपाले गुमाएको गृह मन्त्रालय पुनः प्राप्तिका लागि हदैसम्मको कोसिस गरेपनि पाउन सकेन । अझै गृहको आशा गरेको उसले गृह नै पाए राष्ट्रपतिमा सहजै भोट गर्न सक्छ । तथापि आठ दलले रविलाई गृह दिने सम्भावना भने न्यून देखिन्छ ।
त्यसैगरी राप्रपा भने अझैँ अनिर्णीत देखिएको छ । राजसंस्था र हिन्दुराज्य माग गर्दै आएको राप्रपाले राष्ट्रपतिमा भोट गर्ने वा नगर्ने भन्ने विषयमा हालसम्म कुनै निष्कर्षमा पुगेको छैन ।
यस विषयमा शिक्षाशास्त्र संकाय राजनीतिशास्त्र केन्द्रीय विभाग त्रिविका प्रमुख श्यामप्रसाद फूएल भन्छन्, ‘यो पटकको निर्वाचनमा कुनै पनि दललाई जनताले एकल बहुमत प्रदान गरेका छैनन् । बहुमतसिद्ध दल नभएकोले मिलिजुली सरकार चलाउनुपर्ने बाध्यता छ । यस्तो बेलामा दलहरूले सरकारमा संलग्न हुँदा पावर सेयरिङलाई ध्यानमा राखेका हुन्छन् । यसर्थ केही स्वार्थसिद्ध मनसायले राष्ट्रपतिमा मौनता साधेको हुनुपर्छ । तथापि संविधानको मर्मअनुसार कुनै पनि दलले आफ्नो स्वैच्छिक निर्णय गर्न पाउनुपर्ने उनीहरूको अधिकार नै हो । जसअनुसार राष्ट्रपतिमा भोट गर्छन् या गर्दैनन् । त्यो उनीहरूकै बसमा हुन्छ ।’
राष्ट्रपति निर्वाचन यहीँ फागुन २५ मा हुँदैछ । उक्त निर्वाचनका लागि आठ दलको समर्थनमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् भने एमालेबाट पार्टी उपाध्यक्ष सुवास नेम्वाङले दर्ता गरेका छन् ।