काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल देशको पक्षमा उभिन नसक्ने अवस्थामा पुगेको बताएका छन् ।
२४ औं यदु स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । विगतमा मानवताविरुद्धको अपराध गरेका कारण प्रधानमन्त्री दाहाल देश र जनताको पक्षमा उभिनै नसक्ने गरी कायरता प्रर्दशन गर्न पुग्नु परेको उनको तर्क छ ।
उनले विगतमा अवलम्बन गरेको उग्रवामपन्थी अतिवादका कारण प्रधानमन्त्री दाहालसँग देशलाई सही बाटोमा हिँडाउने सामर्थ्य नै नभएको दावी समेत गरे।
महासचिव पोखरेलले पाँच दलीय गठबन्धन असफल भएपछि आफूहरुले देशलाई जोगाउनका लागि दाहाललाई प्रधानमन्त्री बनाउनु परे पनि उनले त्यसलाई धान्न नसकेको बताए ।
महासचिव पोखरेलले विदेशी चलखेलका कारण मुलुकमा नयाँ समीकरण बनेको भन्दै त्यो राष्ट्र र जनताको पक्षमा नरहेको पटक-पटक दोहोर्याए ।
मुलुकलाई सही बाटोमा अघि बढाउनका लागि देशभक्त, वाम–लोकतान्त्रिक शक्तिहरुबीच बलियो सहकार्यको आवश्यक्ता रहेको पनि उनले बताए।