• बैशाख २८ २०८३, सोमबार

सुदूरपश्चिम सरकारको भविष्य धरमर : एमालेले मत नदिने, माओवादी केन्द्र अनिर्णीत

फाल्गुन २१ २०७९, आईतवार

काठमाडौं । सुदूरपश्चिममा प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहलाई नेकपा (एमाले)ले विश्वासको मत नदिने निर्णय गरेको छ ।

गत माघ २६ मा नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि एमालेका राजेन्द्रसिंह रावल नेतृत्वको सरकार ढलेको थियो ।

त्यसपछि ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेस संसदीय दलका नेता समेत रहेका कमल शाहलाई एमालेले विश्वासको मत नदिने निर्णय गरेको हो ।

शनिबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री शाहको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य धर्मराज पाठकले जानकारी दिए ।

माघ २६ मा नियुक्त भएका मुख्यमन्त्री शाहले आज (आइतबार) विश्वासको मत लिने तयारी गरेका छन् । उनले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

तर सत्तारुढ गठबन्धनकै प्रमुख घटक नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीले पावर सेयरिङमा लिखित सहमती माग गर्दै विश्वासको मत दिन आनाकानी गरेपछि शाह समस्यामा परेका छन् ।