• जेष्ठ ९ २०८३, शनिबार

माधव नेपालका भाईले आत्महत्या गरेको प्रहरीको निष्कर्ष

फाल्गुन २० २०७९, शनिबार

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित एक रेष्टुरेन्टको छतबाट खसेर मृत्यु भएका भनिएका सरोजकुमार उपाध्यायले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

झन्डै पाँच फिट अग्लो रेलिङ रहेको रेष्टुरेन्टको टेबलमाथि चढेर उनी हाम फालेको देखिएकाले यो दुर्घटना भन्दा पनि नियतवस आत्महत्या देखिने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

उपाध्याय लगातार तीन दिनदेखि सोही रेष्टुरेन्टमा जाने गरेको रहस्य पनि खुलेको छ । गत मंगलबारदेखि शंखमूलस्थित बबिन रेष्टुरेन्टमा गइरहने उपाध्याय केही कुरा गर्दैन थिए । कफी र चुरोट मगाउँथे । अपरान्ह एक प्लेट मःमः मगाएर खाएपछि वेटरलाई टिप्स दिएर फर्किने उनको दिनचर्या रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाई एवं सोही पार्टीका केन्द्रीय सदस्यको आर्थिक अवस्था त्यति नाजुक नरहेपनि पारिवारिक समस्या हुनसक्ने आँकलन प्रहरीको छ । उनी शनिबार साँझ रेष्टुरेन्टको छतबाट खसेपछि घाइते भएका थिए । स्थानीयले माइतीघरस्थित  अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारार्थ लगिए पनि उनको निधन भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार टेबलमाथि चढेर उपाध्यायले होटलको छतबाट हाम फालेको देखिन्छ तर, खम्बामा टाँगिएका तारमा अल्झेर मात्रै उनी भुइँमा बजारिएका थिए । घटनाबारे छानबिन भइरहेको जानकारी एसएसपी कार्कीले दिए । उपाध्यायलाई सुरुमा सिभिल अस्पताल लगिएको थियो । एसएसपी कार्कीले भने, ‘हामी अनुसन्धानमै छौँ ।’

पेशाले इन्जिनियर समेत रहेका उपाध्याय पछिल्लो समय नेकपा एकीकृत समाजवादीको राजनीतिमा सक्रिय थिए ।