काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले मुलुकलाई विदेशीहरुको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाएका छन् ।
मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्विकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरुको खेल मैदान बनाउन चाहेको अध्यक्ष ओलीको आरोप छ ।
स्थानीय तह कर्मचारी संघले शनिबार आयोजना गरेको कार्यक्रममा ओलीले मुस्ताङमा रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि नै अति खतरनाक भएको दाबी गरे ।
‘विश्वविद्यालय बनाउन खोजेको हो र त्यहाँ ? विश्वविद्यालयको नाममा अर्थोक नै गर्न खोजेको हो । विदेशीहरुको खेल मैदान बनाउन खोजेको हो । त्यहाँको युरेनियम, त्यसमा ध्यान दिएको हो,’ ओलीले, ‘जहाँ मान्छे छैन, त्यहाँ विश्वविद्यालय । भनेको त्यो खास उद्देश्यका पेड मान्छेहरु मात्रै बस्छन् त्यहाँ । र, यो एउटा बुहतै खतरनाक कुरा हो ।’
भारतलाई खुशी पार्न प्रचण्डले भारतबाट आउने तरकारीहरुको जाँच गर्नु नपर्ने आदेश दिएको आरोप पनि ओलीले लगाए ।
‘अहिले सरकारमा बस्नेहरुलाई कुनै लाजसरम छैन । हाम्रो भान्साभान्सामा विषादीयुक्त चिज आउन दिने, भान्साभान्सामा नेपालीलाई खान दिने, मालिक खुसी हुन्छन कि हुँदैनन् । त्यति हो कुरा । मालिक खुसी हुन्छन् भने नेपाली मरेर के भयो ? नेपालीका भान्सामा विषादी आएर के भयो ?’ ओलीले भने ।
अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनको कुनै गन्तव्य नभएको पनि बताए ।