• बैशाख २८ २०८३, सोमबार

१ नम्बर प्रदेश नामाकरण प्रकरण : एमाले सांसद रानाको भनाई रेकर्डबाट हटाउन निर्देशन

फाल्गुन १७ २०७९, बुधबार

काठमाडौं । प्रदेश १ प्रदेश सभाको नाम ‘कोशी’ राख्नुपर्छ भन्ने प्रस्ताव गरेका नेकपा एमालेका सांसद रामबहादुर मगरको भनाइ रेकर्डबाट हटाउन सभामुख बाबुराम गौतमले निर्देशन दिएका छन् ।

कोशी नाममाथिको सांसदले छलफलमा भाग लिएपछि जवाफ दिने क्रममा सांसद मगरले ‘सांसद जनतालाई ढाँटेर आएको’ बताएपछि त्यसमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले नियमापत्ति गर्दै रेकर्डबाट हटाउन माग गरेका थिए ।

सांसद रानाले ‘प्रदेशसभामा आएका सांसद सोझा नभएको, बरू जनतालाई ढाँट्छल गरेर र अरू के के गरेर चुनाव जितेर आएको’ बताएका थिए । केही सांसदले कोशी नाम राख्ने प्रस्तावमा जनजाति सांसदलाई अघि सारेको विषयलाई ‘सोझालाई फसाएको’ टिप्पणी गरेपछि रानाले सांसदहरू सोझा नभएको जवाफ दिए ।

‘यहाँ आएकाहरू कोही पनि साह्रै सोझा जस्तो मलाई लागेको मलाई छैन,’ उनले भने, ‘जनतालाई प्रशस्तै ढाँट्छल गरेर र अरू के के गरेर चुनाव जितेर आएकाहरू यहाँ छन्,’ प्रदेशका सबैभन्दा चलाख सांसदहरू भएको र उनीहरूमध्येबाट प्रस्ताव आएको उनको भनाइ थियो । मगरको सो भनाइप्रति नियमापत्ति जनाउँदै सांसद राईले ‘चुनावी दौरानमा हामी सबैले ढाँटेर र छलेर आएका हौं त ?’ भन्ने प्रश्न गरेका थिए ।

सांसदको अपमान गर्ने अमर्यादित भनाइ रेकर्डबाट हटाउन उनले माग गरेका थिए । राईको माग नुसार सभामुख बाबुराम गौतमले ती विषय रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् । प्रदेशसभाको नाम कोशी राख्ने प्रस्तावमाथिको छलफल सकिएर अहिले संशोधन दर्ताका लागि २ घण्टा संसद बैठक स्थगित भएको छ ।