• बैशाख २८ २०८३, सोमबार

प्रदेश नं १ को नाम ‘कोसी’ राख्न कांग्रेस-एमाले सहमत, माओवादी भने पहिले छोडेकाे पहिचानको आधार खोज्दै

फाल्गुन १७ २०७९, बुधबार

काठमाडौं । प्रदेश १ को नाम ‘कोसी’ राख्न एमाले र कांग्रेस सहमति नजिक पुगेका छन् । पछिल्लो केही दिनयता चलेको छलफलपछि दुई दल कोसी नाम राख्न लगभग सहमत भएका हुन् । एमाले र कांग्रेस पहिचानको आधारमा प्रदेशको नामाकरण गर्न यसअघि पनि सहमत थिएनन् । राप्रपाले पनि उनीहरुलाई साथ दिइरहेको बताइन्छ ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले भने फरक मत राखेका छन् । सुरुमा उत्पीडित जातिको पहिचानको आधारमा प्रदेशको नाम राख्ने विषयमा दलहरुबीच भएको अनौपचारिक छलफलमा तीन दलले पहिचानसहितको नाम प्रस्ताव आउनु पर्ने अडान राखेका थिए ।

ठूला दल भूगोलका आधारमा कोसी राख्न सहमति नजिक पुगेपछि माओवादीसहितका तीन दलले पहिचानसहितको छुट्टै नाम टेबल गर्ने तयारी गरेको छन् । माओवादीले नै सुरुमा पहिचानको आधारमा प्रदेशको नाम राख्ने प्रस्ताव ल्याएको भएपनि उसले पछि त्यो नारा छोड्यो । फलस्वरुप प्रदेशका नामहरु धमाधम भूगोलमन आधारमा राख्न थालियो ।

‘कांग्रेस, एमाले कोसी नाम राख्ने विषयमा सहमत छन् तर हामी पहिचानसहितको छुट्टै नाम छलफलका लागि टेबल गर्छौं,’ माओवादी केन्द्रका एक नेताले भने, ‘के नाम लैजाने भन्ने छलफल गरिरहेका छौं ।’ ती नेताका अनुसार किरात, लिम्बुवान किरात र कोशी किरातमध्ये एउटा नाम लैजाने तयारी छ ।

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार दलहरुबीच सहमति भए आजै प्रदेशसभामा नामको प्रस्ताब टेबल हुनेछ । ‘आज दिउसो कार्यव्यवस्था परामर्श मितिको बैठक छ,’ उनले भने, ‘बैठकमा सहमति जुटे आज नामको प्रस्ताव टेबल हुन्छ ।’ उनले कोसी वा कोसी किरात नाम राख्ने विषयमा छलफल भएको बताए ।

नेकपा एमाले प्रदेश १ को नाम कोसी राख्नु पर्ने पक्षमा छ । प्रदेशसभाको पहिलो कार्यकालमा पनि एमालेले कोसी राख्न प्रस्ताव गरेको थियो । एमालेले प्रस्ताव गरेको नाममा नेपाली कांग्रेस पनि सहमत छ । ‘प्रदेशको नाममा हाम्रो यही भन्ने अडान छैन,’ कांग्रेस संसदीय दलका नेता उद्धव थापाले भने, ‘जुन नाममा अधिकत सहमति हुन्छ, त्यही नाम पास गर्नुपर्छ ।’
उनको संकेत कोसी प्रदेशमा थियो । कांग्रेसले यसअघि पनि नाममा स्पष्ट अडान नराखेको बताउँदै उनले आएका नाममा अधिकतम सहमति खोजेर पारित गरिनुपर्ने बताए ।

नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफ्नो पार्टी पहिचानको पक्षमा रहेको बताए । ठूला दलले भूगोललाई आधार मानेर नाम ल्याउन खोजेको उनको भनाइ छ ।

९३ सदस्यीय प्रदेशसभामा नाम पारित गर्न दुई तिहाइ बहुमत चाहिन्छ । ४० सिटको नेकपा एमाले र २९ सिटको नेपाली कांग्रेस एक ठाउँमा उभिँदा दुई तिहाइ पुग्छ । कांग्रेस एमालेले भूगोलका आधारमा नाम पारित गर्ने तयारी गरेपछि पहिचानसहितको नाम छलफलका लागि प्रस्ताव गर्ने माओवादीका एक सांसदले बताए । ‘एमाले र कांग्रेस मात्रै मिले कोसीमा दुई तिहाइ पुग्छ,’ ती नेताले भने, ‘हामी पहिचानसहितको नाम दर्ता गर्छौं ।’