काठमाडौं । वैदेशिक रोजगार विभागमा म्यानपावर व्यवसायी र सामाजिक अभियान्ताबीच कुटाकुट भएको छ । दुई पक्षबीच झपड हुँदा सामाजिक अभियान्ता तारा बरालसहित केही व्यक्ति घाइते भएका छन् ।
झडपपछि प्रहरीले बरालसहित ५ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेकी बरालको भने ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बराल लगायतको समूह वैदेशिक रोजगारीमा ठगिएका पक्षमा नाराबाजी गर्दै विभागमा पुगेका थिए । त्यही क्रममा मेनवपावर व्यववसायीहरुले उनीहरुमाथि कुटपिट गरेका हुन् ।
सयौंको संख्यामा विभागमा पुगेका अभियान्ताहरु र म्यानपावर व्यवसायीहरुबीच विवाद भएको थियो । त्यसपछि झपडको अवस्थामा पुगेको हो । झडपपछि आफूमाथि निर्घात कुटपिट गरिएको बरालले बताइन् ।
प्रहरीको उपस्थितिमै बरालमाथि हेलमेटले प्रहार गरिएका कारण उनको टाउकोमा चोट लागेको छ । विभागमा छलफलको क्रममा रहेको बेला पछाडिबाट आएका म्यानपावर व्यवसायीले हट्नु भनेर पछाडिबाट हेल्मेटले हानेको उनीहरुको भनाई छ ।
बाबा म्यानपावरले कम्बोडिया पठाउने भनेर केही व्यक्तिहरुलाई ठगी गरेको आरोप पीडितहरुको छ । विभागमा छलफलपछि म्यानपावर व्यवसायीले पैसा फिर्ता दिने सहमति भएको थियो तर, तीन महिनादेखि कुरेर बस्दा पनि आफ्नो पैसा फिर्ता नपाएको भन्दै पीडितहरु विभागमा पुगेका थिए । त्यही बेला म्यानपावर व्यवसायी र सामाजिक अभियान्ताहरुबीच विवाद भएको हो ।
विवादको क्रममा म्यानपावर व्यवसायीहरुले बरालसहित युट्युबर तथा पीडितहरुमाथि कुटपिट गरेका थिए । उक्त घटनापछि विभागमा गएर होहल्ला गरेको तथा शान्ति सुरक्षामा खलल पुर्याउने काम गरेको भन्दै २ जना महिला र ३ जना पुरुषलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
आफ्नो पैसा फिर्ता माग्न भन्दै पीडितहरु विभागमा पुगेका थिए । विभागका महानिर्देशक उमाकान्त आचार्यले नै पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन दिएका थिए तर, म्यानपावर व्यवसायीहरुले पैसा नदिएको भन्दै पीडितहरु पुनः विभागमा पुगेका थिए ।
विभागमा पुगेका उनीहरुमाथि मेनपावर व्यवसायीहरुले कुटपिट गरेका थिए । कुटपिट गरेको थाहा पाएपछि बरालसहितको टोली विभागमा पुगेको थियो । पीडितहरुलाई साथमा लगेर गएकी बरालले सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै यदि पीडितलाई म्यानपावर व्यवसायीले कुटेको खण्डमा आफूहरुले विभागका हाकिमलाई नै कुट्ने चेतावनी दिएकी थिइन् ।
त्यही क्रममा म्यानपावर व्यवसायीहरुले युट्बरमाथि कुटपिट गरेका थिए । त्यसपछि बरालमाथि पनि कुटपिट गरेका हुन् । पछिल्लो समय विभागमा दिनदिनै होहल्ला गर्ने, युट्युबरहरुलाई बोलाएर नाराबाजी गर्ने जस्ता क्रियाकलाप हुँदै आएको छ । त्यसपछि विभागको सूचना जारी गरेर पीडितलाई परिचयपत्रको आधारमा मात्र भित्र प्रवेश दिने नीति ल्याएको थियो तर, जनशक्तिको अभावमा त्यो नीति लागू गर्न नसकिएको विभागले जनाएको छ ।