• बैशाख २८ २०८३, सोमबार

लुम्बिनीमा लोसपा र नागरिक उन्मुक्ति पार्टीले एमालेलाई दिएको समर्थन फिर्ता लिँदै

फाल्गुन १६ २०७९, मंगलवार

दाङ । लुम्बिनी प्रदेशमा दुई साना दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका छन् । नागरिक उन्मुक्ति पार्टी र लोसपाले नेकपा एमाले नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको हुन् । बुधबार बस्ने प्रदेश सभा बैठकमार्फत् समर्थन फिर्ता लिने नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक राजकुमार चौधरीले बताए ।

बर्दिया क्षेत्र नं १ (२) बाट निर्वाचित चौधरीले केन्द्रको निर्णय अनुसार आफूहरूले सरकार छाड्न लागेको बताए । ‘भोलिको प्रदेशसभा मार्फत् हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिने छौं,’ उनले भने, ‘लुम्बिनीमा एमाले नेतृत्वको सरकारको औचित्य समाप्त भएको हाम्रो बुझाइ छ ।’

लुम्बिनी प्रदेशसभामा उन्मुक्ति पार्टीका चार सांसद छन् । यस्तै लोसपाका संसदीय दलका नेता सन्तोषकुमार पाण्डेले पनि एमालेलाई दिएको समर्थन बुधबार फिर्ता लिने बताए । उनी रूपन्देही ३ (१) बाट निर्वाचित सांसद हुन् ।

बुधबार बिहान ११ बजे यसबारे निर्णय गर्न दाङमा आठ दलका संसदीय नेताहरूबीच बैठक समेत रहेको बताए । ‘केन्द्रमा जस्तै लुम्बिनीमा कसरी सरकार निर्माण गर्ने भन्ने बारे छलफल गर्न आठ दलीय गठबन्धनको बैठक बस्न लागेको हो,’ उनले भने, ‘फागुन १९ गतेसम्म आठ दलीय गठबन्धनको सरकार निर्माणको लागि खाका तयार पारी सक्ने सल्लाह छ ।’

लुम्बिनी प्रदेश सभामा लोसपाका तीन सांसद छन् । बुधबार दिउँसो १ बजेका लागि लुम्बिनी प्रदेश सभाको बैठक आह्वान गरिएको छ । झन्डै एक महिनापछि सभामुखको निर्देशन अनुसार बैठक बस्न लागेको हो । यसअघि गत माघ २० गते प्रदेश सभाको बैठक बसेको थियो ।