काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपति पदमा कांग्रेसलाई मत दिने बताएका छन् । उनले एमाले अझै प्रतिगमनको उद्देश्यबाट पछि नहटेको भन्दै राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेको बताएका हुन् ।
शनिबार एक विज्ञप्ति जारी गर्दै केसीले आफ्नो पार्टीले पौडेललाई समर्थन गर्ने निणर्य गरेको बताए । ‘नेकपा एमालेको नेतृत्वले देशमा प्रतिगमन लाद्न विगत दुई वर्षदेखि लगातार प्रयत्न गरिरहेको छ । अहिले पनि एमाले नेतृत्व प्रतिगमनको उद्देश्यबाट पछाडि हटेको छैन । विगतमा २/२ पटक संसद भङ्ग गरेर, ९/९ महिनासम्म संसदलाई चल्न नदिएर, जनताका आवाजहरुलाई संसदमा उठाउनबाट सांसदहरुलाई बञ्चित गरेको कुरा सबैको अगाडि जगजाहेर छ’ उनले भनेका छन् ।
एमालेले अझै संसद जनप्रतिनिधि संस्था नभएर प्रधानमन्त्रीको कठपुतली संस्था हो, प्रधानमन्त्रीले चाहेका बखत कुनै पनि बेला भङ्ग गर्न सकिन्छ भन्ने मान्यताबाट पछि नहटेको र राज्यका सबै प्रमुख पदहरुमा कब्जा गरेर देशमा अधिनायकवादको अभ्यास गर्न खोजिरहेको केसीले बताए ।