काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले तीन कार्यक्रमका लागि रकम फुकुवा गर्ने निर्णय गरेको छ । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, युवा रोजगारीको लागि रूपान्तरण पहल परियोजना र शिक्षाको लागि खाद्य कार्यक्रम परियोजनाका लागि रकम निकासा फुकुवा गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित युवा रोजगारीको लागि रूपान्तरण पहल परियोजनाका लागि विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास महासंघ (आईडीए)ले ऋण सहयोग गरेको थियो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत सञ्चालित शिक्षाका लागि खाद्य कार्यक्रम परियोजनाका लागि विश्व खाद्य कार्यक्रमले र कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत सञ्चालित खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनातर्फको विश्व बैंक अन्तर्गत रहेको अन्तर्राष्ट्रिय विकास महासंघ (आईडीए) ट्रस्ट फन्डले दिने अनुदानबापतको रकम फुकुवा गरिएको जानकारी महालेखा नियन्त्रकले दिएको छ।