काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी ओलीबीच सम्बन्धविच्छेद भइनसकेकाले राजनीति अझै तरल रहेको बताएका छन् । बिहीबार दिउँसो सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले आफूले एमाले अध्यक्ष ओलीसँग पनि कुरा गरिरहेको बताए । ‘अहिले प्रचण्ड र ओलीबीच सम्बन्ध विच्छेद भइसकेको छैन, झगडा मात्र परेको हो,’ यादवले भने,‘अन्तिमसम्म मिल्न पनि सक्छन् ।’
चुनाव हुनुभन्दा केही दिनअघिसम्म आफ्नो दल पनि सहभागी रहेको पुरानो गठबन्धन ब्युँताउने हो भने आफूहरूको बटमलाइन उपराष्ट्रपति भएको यादवले बताए । ‘हामीलाई उपराष्ट्रपति चाहिन्छ । उपराष्ट्रपति नदिने हो भने हामी गठबन्धनलाई सहयोग गर्न सक्दैनौं,’ यादवले भने । जसपाले उपराष्ट्रपतिमा दाबी गर्नुका दुई स्वाभाविक कारण रहेको यादवले बताए ।
‘हामी सधैं अरूलाई मात्र भोट हाल्न सक्दैनौं । जतातिरको गठबन्धनमा भोट हाल्ने भए पनि हामीलाई उपराष्ट्रपति चाहिन्छ,’ यादवले भने,‘अर्को कुरा राज्यका शीर्ष पदहरूमा मधेशको पनि प्रतिनिधित्व हुनुपर्ने होला नि । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख त हामीले पाएनौं, उपराष्ट्रपतिमा त एक जना मधेसी हुनुपर्छ । त्यसो नहुने हो भने हामी कसैलाई सहयोग गर्न सक्दैनौं ।’
पुरानो गठबन्धन ब्युँताएर नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति उम्मेदवार बनाउँदा आफूहरूलाई कुनै समस्या नभएको यादवले बताए । ‘कांग्रेस र माओवादीले गठबन्धन गर्ने हो भने हामी र एकीकृत समाजवादी निर्णायक हुन्छौं । हामीलाई भूमिका नदिए किन सहयोग गर्ने ? माधव नेपालको राष्ट्रपतिमा दाबी गर्नु स्वाभाविक हो । कि उहाँलाई एक वर्ष प्रधानमन्त्री बनाउने सहमति गर्नुपर्छ,’ यादवले भने ।