काठमाडौं। काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफरस्टेसनमा आजदेखि कम्पोष्ट मल बनाउने काम सुरु गरेको छ ।
परीक्षणका रूपमा टेकुबाट सुरु गरिएको मल उत्पादन गर्ने प्रक्रिया उपत्यकाको अन्य स्थान र आगामी एक महिनाभित्र अन्तिम फोहर विसर्जन स्थान बञ्चरेडाँडामा पनि उक्त प्रक्रिया सुरु गर्ने तयारी रहेको कामपा वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए।
आज टेकुमा १२ टन कुहिने फोहरबाट मल बनाउने काम सुरु गरिएको हो । कम्पोष्ट मल बन्नका लागि एक महिनादेखि बढीमा तीन महिनासम्म समय लाग्ने श्रेष्ठको भनाइ छ ।
यसअघि कामपाले काठमाडौँ उपत्यकामा उत्पादन हुने कुहिने फोहरलाई यहीँ नै व्यवस्थापन गर्ने र त्यसबाट मल उद्योग सञ्चालन गर्ने भन्दै स्थान खोजेको थियो । एकै स्थानमा पर्याप्त जमिन उपलब्ध गर्न नसकेपछि कामपाले थोरै ठाउँमा पनि मल बनाउनका लागि प्रक्रिया सुरु गरेको जनाएको छ ।
कामपाले गत साउन एक गतेदेखि स्रोतमा फोहर वर्गीकरण गरी अन्तिम व्यवस्थापन गर्न भने पनि अहिले केही वडामा मात्रै फोहर वर्गीकरण गरिन्छ भने केही वडाबाट सबै फोहर एकै ठाउँमा राखेर व्यवस्थापन भइरहेको छ ।
महानगरको कूल ३२ वडामध्ये भित्री नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । वर्गीकरण योजना भने सबै वडामा लागू गरिएको छ तर कार्यान्वयन हुनसकेको छैन ।
हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ ।
फोहरको वर्गीकरणबिनै सबै फोहर एकै स्थानमा व्यवस्थापन गर्नुपर्दा स्थानको अभावका कारण समय समयमा समस्या आउने गर्दा वर्षाको समयमा महिनादिनसम्म काठमाडौं उपत्यकाको फोहर सडकमा नै थुप्रिने समस्या सामान्य बनिसकेको छ ।