काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने बताएका छन् ।
बुधवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु नहुने बताएका हुन् । उनले देशको प्रधानमन्त्री भएर कार्यकारी अधिकार प्रयोग गरिसकेका व्यक्तिहरुलाई राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि सार्नु उचित नहुने बताए । उनले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपति बन्ने आकांक्षा नराख्न पनि अनुरोध गरे । महामन्त्री शर्माले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने धारणा राखे ।
महामन्त्री शर्माले प्रधानमन्त्री पदलाई सुनको बालासँग तुलना गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैलाई सुनको बाला देखाएको बताए । ओलीले माधवकुमार नेपाल, झलनाथ खनाल र महन्थ ठाकुरलाई प्रधानमन्त्रीको पद देखाएर अल्मल्याउन खोजेको उनले बताए । राष्ट्रपति निर्वाचनको सन्दर्भमा काँग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल एकठाउँमा आउनुपर्ने उनले बताए ।
उनले पुरानो गठबन्धन ब्युँतिदा जनमतको कदर हुने बताए । संसदको दोस्रो ठूलो दलले सभामुख र तेस्रो ठुलो दलले प्रधानमन्त्रीको पद लिएको अवस्थामा संसदको पहिलो दल हुनुका नाताले काँग्रेसले राष्ट्रपतिको पद पाउनुपर्ने बताए ।