• कार्तिक २० २०८३, बिहीबार

नागरिकता विवादका कारण डीआईजी अशोक सिंहले दिए राजीनामा

फाल्गुन १० २०७९, बुधबार

काठमाडौं। नयाँ प्रहरी प्रमुखको दाबेदार मानिएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् ।

प्रहरी प्रधान कार्यालय पुगेर बुधबार उनले राजीनामा दिएको प्रहरी स्रोतले बताइएको हो । सिंह हाल सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख थिए । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको दौडमा रहेका बेला जन्ममिति विवाद सार्वजनिक भएपछि सिंहले राजीनामा दिएका हुन् ।

एआईजीमा बढुवाका लागि रस्साकस्सी चलिरहेका बेला सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमर फरकफरक भेटिएपछि प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन थालेको थियो ।

२०२४ साल जेठ २२ गते सिंहले पेश गरेको नागरिकता प्रमाण पत्रको प्रतिलिपिमा उनको उमेर १८ वर्ष उल्लेख छ । जिल्ला प्रशासन कार्यालय, कैलालीबाट जारी नागरिकता अनुसार उनको जन्ममिति २०२४ हुनुपर्ने हो । प्रहरी प्रधान कार्यालयको विवरणमा उनको नागरिकता अनुसार उनको जन्ममिति २२ जेठ २०२४ हुने उल्लेख छ ।

प्रहरी नियमावली २०७१ मा सेवा प्रवेश गर्दा सम्बन्धित व्यक्तिले पेश गरेको नागरिकता प्रमाण पत्रमा वर्ष वा संवत् मात्रै उल्लेख भए नागरिकता र शैक्षिक प्रमाण पत्र जारी भएको मितिलाई जन्मको मिति र गते कायम हुने भनिएको छ । सिंहको शैक्षिक प्रमाण पत्रमा जन्ममिति १६ पुस २०२५ जन्ममिति उल्लेख छ ।

प्रहरी नियमवालीमा सेवा प्रवेश गर्दा सम्बन्धित व्यक्तिले लिएको नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र र वैयक्तिक विवरण सबैमा एउटै मिति नभए जुन मितिबाट पहिले अवकाश हुन्छ, सोही मितिका आधारमा हिसाब हुने भनिएको छ ।

यस अनुसार नागरिकताको उमेर कायम भएको भए सिंहले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को उमेर हदका कारण २२ जेठ २०७९ मै अवकाश पाउनुपर्ने हो । तर, सिटरोलमा शैक्षिक प्रमाण पत्रको उमेर उल्लेख भएका कारण सिंह डीआईजीमा बढुवा भएका थिए ।

सिंहले चाहिँ प्रतिष्पर्धामा आफू अगाडि देखिएपछि प्रतिसोध साँधिएको दाबी गर्ने गरेका थिए ।

सिंहको राजीनामासँगै अब भावी आईजीपीको दौडमा डीआईजी वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा मुख्य प्रतिष्पर्धी देखिएका छन् ।