काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारीको सरुवामा अब कसैको भनसुन नचल्ने बताएका छन् ।
सोमबार विराटनगरस्थित नेपाल राष्ट्रिय कर्मचारी संगठन १ नम्बर प्रदेशको दोश्रो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री मोदीले कर्मचारी सरुवाको बेथिति न्युनीकरणका लागि केही नीतिगत व्यवस्था गर्नुपर्ने बताएका हुन् ।
भर्खरै बढुवा भएका उपसचिवलाई कसैको कुरा नसुनीकन स्थानीय तहमा पठाएर भनसुन प्रवृत्ति अन्त्यको थालनी गरेकोसमेत मन्त्री मोदीले बताए ।
भनसुन अन्त्यका लागि सुरुवात आफ्नैबाट गर्नुपर्ने बताए ।माओवादी नेतृत्वको सरकार भएको बेला माओवादी निकटका कर्मचारीहरुले भनेकै ठाउँमा सरुवा हुनुपर्छ भन्ने मानसिकता त्याग्न समेत मन्त्री मोदीले आग्रह गरे ।
ट्रेड युनियनमार्फत राजनीतिमा सक्रिय कर्मचारीहरुले पनि पहिला जनताको सेवालाई प्राथमिकता राख्न निर्देशन दिए । जनताको सेवाभन्दा बढी राजनीतिमा क्रियाशील भएको पाइए निर्मम भएर कानुनी रुपमा कारबाहीको दायरामा ल्याउने मन्त्री मोदीले चेतावनी दिए ।
प्रधानमन्त्रीको मुख्य प्राथमिकता मुलुकमा सुशासन कायम गर्ने भएकाले सरकारको प्राथमिकताअनुसार सेवा प्रवाह गरी सुशासन कायम गर्नका लागि जोड दिन समेत मन्त्री मोदीले निर्देशन दिए ।