काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रपतिको उम्मेदवारबारे प्रश्नमा रुक्माङ्गत कटवाल प्रकरण सम्झिएका छन् ।
सोमबार पार्टी पदाधिकारीको बैठकमा सहभागी हुनुअघि केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकारहरुले महासचिव गुरुङलाई राष्ट्रपति निर्वाचनको सन्दर्भमा प्रश्न सोधेका थिए ।
जवाफमा उनले राष्ट्रपति संविधान र लोकतन्त्रको रक्षा गर्ने व्यक्ति हुनुपर्ने, राजनीतिक आस्थाका आधारमा काम नगर्ने व्यक्ति हुनुपर्ने बताए । यही संविधानको भावना र मर्म रहेको उनको भनाइ छ । विगतका राष्ट्रपतिले संविधानको भावना र मर्म विपरीत काम गरेको भन्दै उनले रुक्मांगत कटवाल प्रकरण सम्झिएका हुन् ।
‘विगतकालका संविधानको भावना विपरीत जाँदा कटुवाल प्रकरण के भएको थियो ? किन उल्टायो राष्ट्रपतिले ? सरकारले गरेको सिफारिस स्वीकृत गर्नुपर्ने होइन राष्ट्रपतिले ? किन उल्टाए ? संविधान विपरित गएको होइन ?’ महासचिव गुरुङले पत्रकारहरुसित भने ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०६६ साल वैशाख २० गते तत्कालीन प्रधानसेनापति रूक्माङ्गत कटवाललाई बर्खास्त गरेर कुलबहादुर खड्कालाई निमित्त प्रधान सेनापति बनाएका थिए तर, सरकारको उक्त निणर्यलाई तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले रोकेका थिए ।
उनले सेनापतिलाई पत्र लेखेर आफ्नो पदमा रहेर काम गर्न आदेश दिएका थिए । राष्ट्रपतिको उक्त कदमपछि दाहालले नियुक्तिको ९ महिनामै प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।