काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने जिम्मा पार्टी पुष्पकमल दाहाललाई दिएको छ । सोमबार बसेको पदाधिकारी बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने सबै जिम्मा अध्यक्ष दाहाललाई दिएको हो ।
आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुसँग दाहालले राष्ट्रपतिबारे पार्टीको पदाधिकारी बैठकबाट निणर्य गर्ने बताएका थिए तर बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने अधिकार प्रचण्डलाई दिएको छ । यस्तै बैठकले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, संविधानको रक्षा र शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन पनि राष्ट्रिय सहमति खोज्ने निणर्य गरेको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए ।
उपाध्यक्ष महराले फागुन १२ गतेसम्म राष्ट्रिय सहमति हुनेमा विश्वस्त रहेको बताए । यता सत्ता साझेदार एमालेले भने राष्ट्रपति आफ्नो पार्टीले पाउनु पर्नेमा जोड दिइरहेको छ । माओवादीसित सत्ता बाँफाँडमा सभामुख र राष्ट्रपति एमालेले पाउने सहमति भएको एमाले नेताहरु बताइरहेका छन् ।
यता माओवादी केन्द्रले भने सहमतिको आधारमा राष्ट्रपति बनाउनु पर्ने भनेर एमालेसितको सहमति उल्लंघन गरिरहेको छ । यसैगरी यी २ दल अगाडी बढेमा राष्ट्रपति कांग्रेसबाट बन्ने र यो सरकार ढल्ने तथा प्रचण्ड फेरिपनि कांग्रेसको आडमा प्रधानमन्त्री बन्ने आँकलन विश्लेषकहरुले गरिरहेका छन् ।