काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीविरुद्ध भ्रष्टाचार तथा अन्य विषयमा अनुसन्धान गर्न गठन गरिएको कोर्ट अफ इन्क्वाइरीले आफ्नो अनुसन्धान प्रतिवेदन प्रधानसेनापति प्रभुराम शर्मालाई बुझाएको छ ।
उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा गठन भएको कोर्ट अफ इन्क्वाइरीले आरोपी शाहीविरुद्धको सम्पूर्ण अनुसन्धान पूरा गरेर प्रमाणसहितको प्रतिवेदन प्रधानसेनापति शर्मालाई केही बुझाएको सैनिक उच्च स्रोतले जनायो ।
प्रधानसेनापतिबाट सो प्रतिवेदन सदर भएपछि केही दिनमै सैनिक मुख्यालयले कोर्ट मार्सल गठन गर्नेछ । सैनिक ऐन-२०६३ भाग ८ को (६७) अनुसार अब उपरथी शाहीसहित आरोपीहरूको विषयमा रथीको नेतृत्वमा कोर्ट मार्सल गठन हुनेछ । जहाँ उपरथी शाहीसहित आरोपीहरूले आफूमाथि राखेको आरोपका विषयमा सफाइको मौका पाउनेछन् ।
५७ वर्षे उमेरहदका कारण शाही पुस २० बाट नियमित अवकाशमा जाँदै थिए। संगठनको १५ दिनअघि बिदा बस्ने परम्पराअनुसार उनले अवकाशपत्र पनि बुझिसकेका थिए।
अवकाशपत्र लिएपछि उनले आफ्नो उमेर एक वर्ष बढी कायम गरिएको भन्दै सैनिक मुख्यालय र रक्षा मन्त्रालयविरुद्ध पुस ७ मा सर्वोच्च अदालतमा रिट दिएका थिए ।
उनको पक्षमा अदालतले आदेश दिएसँगै उनी हाजिर हुन जंगी अड्डा जाने तयारीमा थिए। त्यहीबीच पुस १९ गते उनलाई सैनिक प्रहरी गणले नियन्त्रणमा लिएकाे थियाे।