• बैशाख २८ २०८३, सोमबार

विद्याको अकर्मण्यताले एमाले राष्ट्रपतिबाट बञ्चित हुने सम्भावना बलियो, रेसमा पौडेल, नेम्बाङ, खनाल र ठाकुर

फाल्गुन ५ २०७९, शुक्रबार

काठमाडौं । हुन त संसदीय व्यवस्थामा राष्ट्रपति आलंकारिक हुन्छ । उसले चाहेर वा नचाहेर केही गर्न सक्ने अवस्था हुँदैन । पदिय दायित्व उच्च कोटीको भए पनि जिम्मेवारीको हिसाबले प्रधानमन्त्री राष्ट्रपति भन्दा कयौँ गुणा शक्तिशाली हुन्छ ।

तथापि यसअघि पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको हर्कतलाई बढावा दिने निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारीको अकर्मण्यताले अधिकांश दलहरू त्रसित छन् । फलस्वरू यतिबेला केही दलबाहेक प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)लगायत प्रतिपक्षी नेपाली कांग्रेस र अन्य दलले एमालेलाई कुनै हालतमा राष्ट्रपति दिन नहुने तर्क राख्दै आएका छन् ।

केही दिनअघि एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चा (राजमो)का अध्यक्ष चित्रबहादुर केसीले एमालेलाई राष्ट्रपति दिन नहुने जिकिर गरे । उनले विगतका राष्ट्रपतिको कार्यशैलीबाट पाठ सिक्नुपर्ने बताए । उनले राष्ट्रपति रबरस्ट्याम्प हुनुले देश बर्बादीतर्फ धकेलिएको संकेत गरे ।

त्यस्तै केसीले आज (शुक्रबार) विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । भेटमा उनले जनमोर्चाको तर्फबाट ज्ञापन पत्रसमेत बुझाएका थिए । ज्ञापन पत्र बुझाउँदै प्रधानमन्त्रीलाई केसीले राष्ट्रपतिलाई रबरस्ट्याम्प बनाउन नहुने बताए ।

प्रधानमन्त्रीसँगको भेटमा केसीले भावी राष्ट्रपतिको विषयमा पनि छलफल गरेको बताइएको छ । राष्ट्रपतिमा राष्ट्रिय सहमतिको अडान नछोड्न उनले प्रचण्डलाई सुझाव दिएका छन् । निवर्तमान राष्ट्रपति जस्तो रबरस्ट्याम्प भावी राष्ट्रपतिलाई बनाउन नहुने समेत उनको तर्क थियो । केसीले सकभर एमालेको तर्फबाट राष्ट्रपति बनाउन नहुने सुझाव दिएको स्रोत बताउँछ ।

राष्ट्रपतिको रेशमा पौडेल, नेम्बाङ, ठाकुर र बिजुक्छे

राष्ट्रपति उम्मेदवार मनोनयन दर्ता गर्न एक साता बाँकी रहँदा दलका शीर्ष नेताको दौडधुप चलेको छ । राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने प्रधानमन्त्रीको बलियो अडानले कांग्रेसलाई राहतको महसुस भएको छ । उसले माओवादी केन्द्रले समर्थन गर्नेमा ढुक्कै रहेको नेताहरू दाबी गर्छन् ।

कांग्रेसबाट पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल विगत लामो समयदेखि राष्ट्रपतिको रेसमा छन् । उनले आफूलाई राष्ट्रपतिमा समर्थन गर्न सबै दलसँग आग्रह गर्दै आएका छन् । दलका शीर्ष नेताहरूसँग पनि पोडेलको भेटघाट र छलफल बाक्लो छ ।

उनले यसअघि माओवादी केन्द्र, एमाले, जसपा, लोसपा र नेपाल मजदुर किसना पार्टी (नेमकिपा)का नेतासँग भेटवार्ता गरिसकेका छन् । भेटमा उनले सबै दलका नेताले आफूलाई समर्थन गर्न आग्रह गर्दै आएको कांग्रेस निकट स्रोत बताउँछ । राष्ट्रपतिमा उत्कट चाहना भएका पौडेलले माओवादी केन्द्रबाट भरपूर समर्थन पाउनेमा ढुक्क छन् ।

उनले हिजो (बिहीबार) साँझ नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेसँग पनि भेटवार्ता गरेका छन् । एमालेले बिजुक्छेंलाई राष्ट्रपति उम्मेदवार बनाउने संकेत गर्दैगर्दा कांग्रेसको तर्फबाट राष्ट्रपतिको सम्भावित उम्मेदवार रामचन्द्र पौडेल भक्तपुर कमलविनायकस्थित बिजुक्छें निवास पुगेका थिए ।

भेटमा पौडेल र बिजुक्छेले झन्डै २ घण्टा छलफल गरेका थिए । छलफलमा वर्तमान राजनीतिक घटनाक्रम र आसन्न राष्ट्रपति निर्वाचनको विषयमा दुई नेताबीच छलफल भएको भेटमा सहभागी तरुण दलका पूर्वअध्यक्ष एवं भक्तपुर कांग्रेस नेता विनोद प्रकाश कायस्थले बताए ।

कांग्रेसबाट राष्ट्रपति उम्मेदवारमा वरिष्ठ नेता पौडेल र कृष्ण सिटौलाको नाम पनि चर्चामा छ । तर, पौडेल भन्दा सिटौलाको चर्चा कमै छ ।

नेमकिपाका अध्यक्ष बिजुक्छे राष्ट्रपतिमा चर्चा आउनुको कारण यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी चाँगुनारायण मन्दिर दर्शनपछि सिधै भक्तपुरस्थित बिजुक्छे निवास पुगेकी थिइन् । उनले त्यहाँ आधा घण्टा छलफल गरेकी थिइन् । उनीसँगको भेट पश्चात् बिजुक्छेको नाम राष्ट्रपतिमा चर्चा छ ।

त्यसैगरी एमालेबाट राष्ट्रपतिमा नेता सुवास नेम्वाङको पनि गाइँगुइँ हल्ला छ । तर, एमालेबाट हालसम्म राष्ट्रपतिको चर्चित फिगर सार्वजनिक भएको देखिँदैन । गत पुष १० मा सत्ता गठबन्धनमा भएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री प्रचण्डले आनाकानी गरेपछि अध्यक्ष ओलीले राष्ट्रपतिका लागि एमाले बाहेकका अन्य नेताको खोजी गर्न थालेको राजनीतिक वृत्तमा चर्चा चलेको छ ।

नेकपा (एकीकृत समाजवादी)मा पनि राष्ट्रपतिको चर्चा छ । पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले केही दिनअघि एकीकृत समाजवादीले राष्ट्रपतिमा उम्मेदवारी दिने बताएका छन् ।

यसअघि नै राष्ट्रपतिमा खनालको नाम पनि चर्चामा थियो । एमाले–माओवादी केन्द्र लगायतका अन्य दलको सत्ता गठबन्धन पश्चात् राष्ट्रपतिमा खनालको नाम ओझेलिएको थियो । तर, प्रधानमन्त्रीले राष्ट्रिय सहभतिका आधारमा राष्ट्रपति चयन गर्ने बताएपछि खनाल यहीँ मौकामा चौका हान्ने दाउमा छन् । उनले केही दिनअघि सार्वजनिक कार्यक्रममै एकीकृत समाजवादीले पनि राष्ट्रपतिमा उम्मेदवारी दिन सक्ने बताएका थिए ।

उता लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पनि राष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दिने निर्णय गरेको छ । उसले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यता राष्ट्रपतिको निर्णायक दल माओवादी केन्द्रले भने राष्ट्रिय सहमति बेगर कसैलाई पनि समर्थन नगर्ने बताउँदै आएको छ । वरिष्ठ उपाध्यक्ष तथा पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार, ‘राष्ट्रिय सहमति भएमा एमाले, कांग्रेस वा अन्य जुनसुकै दलबाट पनि राष्ट्रपति बन्न सक्नेछन् । तर, सहमतिबिना एमाले वा अन्य कुनै दललाई माओवादी केन्द्रले समर्थन गर्दैन ।’

पूर्वसहमति अनुसार माओवादी केन्द्रले राष्ट्रपतिमा एमालेलाई सहमति गर्न सक्थ्यो । तर, यसअघि केपी शर्मा ओलीले दुई÷दुई पटक चलायमान संसद् विघटनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि माओवादी केन्द्र, कांग्रेस लगायतका अन्य दल झस्केका छन् । यसर्थ यसपटक एमालेले सजिलै राष्ट्रपति पाउने सम्भावना लगभग टरिसकेको छ ।