• बैशाख २८ २०८३, सोमबार

वडाध्यक्ष सिग्देलले कर्मचारीमाथि हातपात गरेपछि हेटौंडामा मच्चियो लफडा

फाल्गुन ४ २०७९, बिहीबार

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देललाई एकजना कर्मचारीमाथि हातपातको प्रयास गरेको आरोप लागेको छ ।

उनले उपमहानगरपालिकाको शहरी विकास महाशाखा प्रमुख सत्यनारायण साहलाई अपशब्द प्रयोग गर्दै गालिगलौज गर्नुका हातपातको प्रयास गरेका एक प्रत्यक्षदर्शी कर्मचारीले बताए । वडाध्यक्ष सिग्देलले वडाको योजनाको फाइल अगाडि नबढाएको र आफ्नो काम नगरेको भन्दै उपमहानगरपालिका प्रवेश गर्ने मुल गेट अगाडि नै साहलाई गालीगलौज गरेका हुन् ।

उपमहानगरका सिनियर इञ्जिनियर समेत रहेका महाशाखा प्रमुख साहमाथि अभद्र व्यवहार भएको भन्दै उपमहानगरपालिकाको शहरी विकास महाशाखाका कर्मचारीहरुले आफ्नो काम रोकेका छन् । अहिले नगर प्रमुख मीना लामाको कार्यकक्षमा मेयर लामा, उपमेयर राजेश बानियाँ, वडाध्यक्ष सिग्देल र महाशाखा प्रमुख साहबीच छलफल चलिरहेको छ ।

यसअघि गएको भदौ ७ गते हेटौंडाको एक विद्यालयको सटर भाडामा लगाउने विषयमा विवाद हुँदा सिग्देल आफ्नै पार्टीको कार्यकर्ताद्वारा कार्यकक्षमै कुटिएका थिए ।