• जेष्ठ ८ २०८३, शुक्रबार

कुुन बैंकमा खाता खोल्ने भन्ने विवादमा प्रदेशसभाको बैठक नै अवरुद्ध !

फाल्गुन ३ २०७९, बुधबार

जनकपुरधाम । प्रदेशसभा सदस्यको पारिश्रमिकका लागि कुन बैंकमा खाता खोल्ने भन्ने विषयलाई लिएर बुधबार मधेश प्रदेशसभा बैठक नै अवरुद्ध भएको छ ।

बुधबार प्रदेशसभा बैठक बस्नुअघि प्रदेशसभा सदस्यको खाता खोल्न एनएमबि बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका कर्मचारी प्रदेशसभा सचिवालयमा आएका थिए । तर एनएमबि बैंकका कर्मचारीले मात्र प्रवेश पाए । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रतिनिधिलाई भने मर्यादापालकले रोकेका थिए ।

स्रोतका अनुसार एनएमबि बैंकका कर्मचारीलाई प्रदेशसभा सचिवालयले बोलाएको थियो भने नेपाली कांग्रेसले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रतिनिधिलाई बोलाएका थिए । कांग्रेसका सांसदहरुले सचिवालयले भनेको बैंकमा नभई नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा खाता खोल्ने अडान लिएका थिए तर, सचिवालयले इन्मेस्टमेन्ट मेगा बैंकका कर्मचारीलाई प्रवेश नै गर्न नदिएपछि कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।
प्रमुख सचेतक कुमारकान्त झाले आफ्ना अतिथिलाई संसदीय दलको कार्यालयमा पनि प्रवेश गर्न नदिएको भन्दै जवाफ नआएसम्म सदन चल्न नदिने बताए ।

सभामुख रामचन्द्र मण्डलले यो विषयमा बैठकमै जवाफ दिने कि आफ्नो कार्यकक्षमा छुट्टै छलफल गर्ने भनेर सोधे । कांग्रेसका प्रदेशसभा सदस्यहरु नबोलेपछि उनले भने, ‘गेस्ट बोलाउने, राख्ने अवसर मानननीय सदस्यहरुलाई छ । तर अराजकता गर्ने, समस्या क्रियट गर्ने, प्रदेशसभालाई डिस्टोर्ट गर्ने काम गर्नेलाई गेस्ट भन्न सकिँदैन । ३ घण्टादेखि ‘ऊ आफ्नो बिजनेस गर्न आएको छ, प्रदेशसभाको निणर्यलाई अवहेलना गर्ने व्यक्तिका लागि यो ठाउँ कदापी हुन सक्दैन ।’

तर कांग्रेस सांसदहरुले प्रतिवाद गरे । आफूहरुले जोसुकैलाई बोलाउन सक्ने भन्दै आफूहरुले बोलाएको अतिथिलाई रोक्नु सभामुखको काम नभएको बताए । यही विवाद लम्बिँदै गएपछि प्रदेशसभा बैठक १० मिनेटलाई स्थगित गरिएको थियो ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले सचिवालयले नभई दुबै बैंकका प्रतिनिधिलाई प्रदेशसभा सदस्यहरुले नै बोलाएको बताए । ‘खाता जुनमा खोलाउँदा पनि सुविधा खातामा नै जान्छ तर सांसदहरुले जुन बैंकले बढी सुविधा दिन्छ । त्यसमा खोलाउन सहमति गरेका थिए । तर कुनमा खोलाउने भन्ने सहमति भएको भनेर मलाई थाहा भएन’ उनले भने ।

काँग्रेस प्रमुख सचेतक झाले अघिल्लो कार्यकालका प्रदेशसभा सदस्यको खाता रहेको बैंकमा नै कांग्रेसले यसपटक पनि खाता खोल्न चाहेको बताए तर बैंकका प्रतिनिधिलाई बोलाएपछि छिर्न नदिएर अपमान गरेपछि बैठक अवरोध गरेको बताए ।
स्थगित १० मिनेटको समयमा आ-आफ्नै अनुकुल बैंकमा खाता खोलाउने सहमति भएको उनले बताए ।