• बैशाख २८ २०८३, सोमबार

राष्ट्रपति पदका लागि शक्ति राष्ट्रहरु खुलेरै लागिरहेका छन् : सांसद केसी

फाल्गुन ३ २०७९, बुधबार

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले विदेशी शक्ति राष्ट्रहरूले राष्ट्रपतिको चुनावमा अप्रत्यक्ष रूपमा भूमिका खेले पनि यस पटक भने प्रत्यक्ष रूपमा नै भूमिका खेलेको आरोप लगाएका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले यस्तो आरोप लगाएका हुन् । उनले शक्ति राष्ट्रहरूले यसपटक प्रत्यक्ष रूपमा आफ्नो देशको स्वार्थ अनुकूल राष्ट्रपतिका लागि भूमिका खेलिरहेको बताए ।

उनले यसले नेपालको स्वाभिमान नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइरहेको बताए । सांसद केसीले नेपालका सरकार प्रमुखहरू विदेशी शक्ति राष्ट्रका मानिसहरू आउँदा लम्पसार परेर उनीहरूको आशीर्वादबाट आफ्नो दुनो सोझ्याउने काम गरिरहेको दाबी समेत गरे । उनले भारतको सामान्य कर्मचारी आउँदा पूर्वप्रधानमन्त्रीहरूदेखि मन्त्रीहरू र राष्ट्रप्रमुख नै लम्पसार परेको भन्दै यसले देशको इज्जत र प्रतिष्ठामा आँच आएको बताए । उनले भूगोलको हिसाबले राष्ट्र सानो, ठुलो भए पनि सार्वभौम सत्ता, भौगोलिक अखण्डताको हिसाबले राष्ट्र सानो, ठुलो नहुने उनले बताए ।

उनले भने, ‘एक दुई दिन पहिलो छिमेकी राष्ट्र भारतबाट परराष्ट्र सचिवको नेपाल आगमन भयो । एउटा कर्मचारी । उहाँले नेपालका राष्ट्र प्रमुख, सरकार प्रमुख, लगायत विभिन्न मानिसहरूको बीचमा उहाँले भेटघाटको अभियान चलाउनु भयो । राष्ट्र सानो ठुलो हुनसक्छ । निश्चय पनि नेपालको तुलनामा भारतको भूगोल, जनसङ्ख्या, आर्थिक दृष्टिकोणले ठुलो छ तर सार्वभौम सत्ता, भौगोलिक अखण्डताको हिसाबले राष्ट्र सानो, ठुलो हुँदैन । सार्वभौम सत्ता हरेक राष्ट्रको बराबर हुन्छ तर नेपालबाट पूर्व प्रधानमन्त्रीहरू वा जिम्मेवार मन्त्रीहरू जाँदा भारतीय शासकहरूले, खास गरेर उपल्लो तहका शासकहरूलाई भेट्नै सक्दैन । उहाँहरू निराश भएर फर्किनुपर्छ तर छिमेकका कर्मचारी आउँदा नेपालका राष्ट्र प्रमुख, सरकार प्रमुख, विभिन्न तहका मानिसहरू आफूलाई असाध्यै जान्ने सुन्ने र देशको स्वाभिमान हुँ भन्दै मुन्टो हल्लाउँदै हिँड्ने, किन यसरी विदेशीहरूको अघि लम्पसार परिरहेका छन्, राष्ट्रिय स्वाभिमानको बारेमा उहाँहरूलाई अलिकति लाज लाग्दैन ।’