काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले शक्ति राष्ट्रहरुले राष्ट्रपतिको चुनावमा अप्रत्यक्षित रुपले भूमिका खेले पनि यसपटक भने प्रत्यक्ष रुपमै मैदानमा उत्रिएको आरोप लगाएका छन् ।
बुधवार प्रतिनिधि सभाको बैठकमा बौल्दै सांसद केसीले यस्तो आरोप लगाएका हुन्। उनले शक्ति राष्ट्रहरुले यस पटक प्रत्यक्ष रुपमा आफ्नो देशको स्वार्थअनुकुल राष्ट्रतिका लागि भूमिका खेलिरहेको बताए।
‘एक दुई दिनपहिले भारतबाट परराष्ट्र सचिवको आगमन भयो। उनले नेपालका राष्ट्र प्रमुख, सरकार प्रमुख, लगायत विभिन्न मानिसबीच भेटघाट अभियान चलाए। राष्ट्र सानो ठूलो हुनसक्छ। निश्चय पनि नेपालको तुलनामा भारतको भूगोल, जनसंख्या, आर्थिक दृष्टिकोणले ठूलो छ। तर सार्वाभौम सत्ता, भौगोलिक अखण्डताको हिसावले राष्ट्र सानो, ठूलो हुँदैन। सार्वभौम सत्ता हरेक राष्ट्रको बराबर हुन्छ’, उनले भने, ‘तर नेपालबाट पूर्वप्रधानमन्त्रीहरु वा जिम्मेवार मन्त्रीहरु जाँदा भारतीय शासकहरुले उपल्लो तहका शासकलाई भेट्नै सक्दैनन्। निराश भएर फर्किनुपर्छ। तर छिमेकका कर्मचारी आउँदा नेपालका राष्ट्र प्रमुख, सरकारप्रमुख, विभिन्न तहका मानिसहरु आफूलाई असाध्यै जान्नेसुन्ने र देशको स्वाभिमान हुँ भन्दै मुन्टो हल्लाउँदै हिँड्ने, किन यसरी विदेशीहरुको अघि लम्पसार परिरहेका छन्।’
‘नेपालमा अहिले चर्चाको विषय छ, राष्ट्रपति कसलाई बनाउने भन्ने चर्चा छ। त्यस सम्बन्धमा शक्ति राष्ट्रहरुले राष्ट्रपतिको चुनावमा अप्रत्यक्ष रुपले हुने गर्दथ्यो, अहिले त प्रत्यक्ष रुपले नै आफ्नो देशको अनुकुल मान्छे राष्ट्रपति बनाउने खेल भइरहेको छ, यसले नेपालको स्वाभिमान नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइरहेको छ’, उनले भने, ‘विदेशी शक्ति राष्ट्रका मानिसहरु आउँदा लम्पसार परेर उनीहरुको आशिर्वादबाट आफ्नो दुनो सोझ्याउने काम गरिरहेका छौँ, यसले वास्तवमा राष्ट्रको स्वाभिमान, इज्जतमाथि खलल गरिरहेको छ।’