काठमाडौं । काठमाडौंको बालाजु तथा माछापोखरी क्षेत्रमा प्रहरीकै गाडीमा आगजनी र लटुपाटको घटनापछि प्रहरी महानिरीक्षक (आईजी) धीरज प्रताप सिंहले कानुनसम्मत तरिकाले बल प्रयोग गर्न निर्देशन दिएका छन् ।
काठमाडौं उपत्यकाका प्रहरी कार्यालय, ३ वटै जिल्लाका प्रहरी परिसर, वृत्त र प्रभाग प्रमुखहरुलाई बोलाएर आईजी सिंहले कडाइका साथ प्रस्तुत हुन निर्देशन दिएका हुन्।
कुनै पनि अपराधका घटना हुन नदिन प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुका साथै अझै बढी सक्रिय भइ आ–आफ्नो जिम्मेवारी वहन गर्दै कार्यसम्पादन गर्नुपर्ने सिंहले उल्लेख गरे।
आम नागरिकलाई राज्यको उपस्थितिको अनुभूति दिने संस्था प्रहरी नै भएको बताउँदै आईजी सिंहले भने, ‘हालैका घटनाको समीक्षा गर्दै आगामी दिनमा हुनसक्ने घटनाको पूर्वानुमान गरी तयारी हालतमा रहन र आवश्यकता अनुरूप कानुनसम्मत तरिकाले बल प्रयोग गर्न नहिच्किचाउनू।’ आईजी सिंहले घटनालाई गम्भीरताका साथ लिएर संलग्नको पहिचान गरी कानुनी दायरामा ल्याउन समेत निर्देशन दिए।