• बैशाख २८ २०८३, सोमबार

गठबन्धन फेरिन सक्नेमा ओलीले किन गरे आशंका ?

फाल्गुन २ २०७९, मंगलवार

काठमाडौं । राष्ट्रपतिको निर्वाचन नजिकिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन फेरिन सक्नेमा उनले आशंका व्यक्त गरेका छन् । माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति राष्ट्रिय सहमतिबाट खोज्ने संकेत गरिरहेका बेला ओलीले गठबन्धन फेरिन सक्ने संकेत गरेका हुन् ।

पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २३औँ राष्ट्रिय महाअधिवेशन राजधानीको प्रज्ञा भवनमा उद्‌घाटन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो आशंका व्यक्त गरेका हुन्। ‘पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ। त्यो सफलताको कुरा हो। हाम्रा साथीहरु खुसी भएको दखिन्छ। तर कथंकदाचित यो स्थिति फेरियो भने…’ ओलीले भने।

ओलीले संसद्को बनावट नै अस्थिरताको कारक हुने खालको बनेको बताए। ‘बहुमत कसैको छैन। हामीसँग बहुमत भन्दा तल सिट छ। र अनेक प्रकारका शक्तिहरु यो देश बर्बाद पार्न क्रियाशील छन्। यो देश बर्बाद पार्न यदि कुनै डाँकाले बैंकमा डैकत गर्नु पर्‍यो भने पहिले पालेलाई प्रहार गर्छ। नेकपा एमाले देशलाई डैकति गर्न नदिने गेटको पाले हो,’ अध्यक्ष ओलीले भने,‘यसमाथि नहानीकन, यसमाथि नहानी भित्रै पस्न पाँउदैन। पहिले यसमाथि प्रहार हुनसक्छ। अनेक प्रकारका शक्ति क्रियाशील छन्। अनेक प्रकारका षड्यन्त्र भइरहेका छन्।’