काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा एकैदिन छ जनाको मृत्यु, दुई जनाको मृत शव फेला परेको छ । सडक सवारी दुर्घटनामा छ तथा बेवारिसे अवस्थामा दुई जनाको मृत शव फेला परेको नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालयले दिएको जानकारी अनुसार सिरहाको लहान नगरपालिका–३ स्थित सडकमा सवारी दुर्घटनमा परी दुई जनाको मृत्यु भएको छ । हिजो दिउँसो दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
मे.१ ख २३६३ नम्बरको बसले स.११ प १९०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा सोही नगरपालिका–२० मलहनवा बस्ने २२ वर्षीय नागेन्द्र कुमार चौधरी र २५ वर्षीय अभिशेक चौधरी रहेका छन् ।
ठक्करबाट गम्भीर घाइते भएका नागेन्द्रको उपाचारको लागि सप्तऋषि अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै र अभिशेकको विराट नर्सिंङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
त्यस्तै जाजरकोटको कुशे गाउँपालिका–५ चैँकस्थित सडक सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । हिजो साँझ दुर्घटनामा परी उनको ज्यान गएको ईलाका प्रहरी कार्यालय पाँचकाटियाले जनाएको छ ।
भे.२ त ३०९ नम्बरको ट्याक्टरबाट खस्दा सोही ट्याक्टरको टायरले किच्चिएर सोही गाउँपालिका–५ दम्दला बस्ने ६० वर्षीय खड्क थापाको मृत्यु भएको हो ।
ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस घटनाको सम्बन्धमा पनि प्रहरी अनुसन्धान गरिरहेको जनाएको छ ।
त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका–१८ लावाघाटमा पनि सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । हिजो साँझ उनको मृत्य भएको हो ।
एनएल ०२ जी ८९५२ नम्बरको भारतीय टेलर गाडीले मे.१० प ९१६१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक झापा मेची नगरपालिका–१३ बस्ने ४४ वर्षीय राजेन गिरीको घटनास्थलमै मृत्यु भएको हो । हाल फरार रहेका गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सप्तरीको सुरुङ्गा नगरपालिक–२ हर्दियामा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदल यात्रुको मृत्यु भएको छ । उनको हिजो साँझ घटनास्थलमै मृत्यु भएको हो ।
मधेश प्रदेश ०१–००४ प २१२४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–२ बस्ने ५५ वर्षीय मसीलाल चौधरीको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहान सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकसहित २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सप्तरीको खडक नगरपालिका–६ बिरपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हिजो साँझ उनको मृत्यु भएको हो ।
सोही नगरपालिका–६ बस्ने ७० वर्षीय कासीम मियाँको आफ्नै खेत बारीमा विद्युतीय मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको युनिक अस्पताल रुपनीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कञ्चनपुरको वेदकोट नगरपालिका–३ स्थित खेमनालामा सोही ठाउँ बस्ने ३० वर्षीय देवसिंह राना शनिबार मृत अवस्थामा फेला परेको छ ।
त्यस्तै चितवनको भरतपुर महानगरपालिका–५ रामबाग बस्ने ४५ वर्षीया अनिता नेपाली कुमाल आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
त्यसैगरी देशका विभिन्न स्थानमा घटेका घटनाको अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
जस अन्तर्गत काठमाडौं महानगरपालिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेट नजिकैबाट सुनजस्तो देखिने धातु ५ सय ग्राम सहित २ जना भारतीय नागरिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतीय नागरिक ३१ वर्षीय गिरिश चन्देरलाल थडानी र ३४ वर्षीय मुकेश कुंदन आठवाणी रहेका छन् ।
ईन्डिगो एयरलाईन्सको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका थडानीको साथबाट २ सय ५० ग्राम र आठवाणीको साथबाट २ सय ५० ग्राम सुनजस्तो देखिने धातु अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।
यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
बर्दियाको गुलरिया नगरपालिका–९ खल्लिपुरुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ करिब १० ग्रामसहित सोही ठाउँ बस्ने २४ वर्षीय शाह बुद्धिन सेखलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मथुराहरिद्वारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–४ सिरुटार चारदोबाटोबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ५५ ग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–९ लामाटार बस्ने २६ वर्षीय सुमित पौडेल र २६ वर्षीय सनम तित्तल रहेका छन् ।
प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बा.९० प ८७९२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
उदयपुरमा २२ वर्षीया महिलालाई जरबजस्ती करणी गरेको अभियोगमा ताप्ली गाउँपालिका–५ गैरी गाँउ बस्ने ६५ वर्षीय असल मान परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
परियारले ती महिलालाई बिहीबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रूपाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटी कमेरेटोलबाट तास खेलिरहेको अवस्थामा सोही नगरपालिका बागेश्वरी कमेरेटार बस्ने ५८ वर्षीय केशव प्रसाद लामिछानेसहित ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त ठाउँमा तास खेलिरहेको भन्ने विशेष सूचानको आधारमा प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ हजार ३० रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।