काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हालै सम्पन्न गरेको विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भने, ‘क्रान्तिकारी आन्दोलनबाट विचलन नभएका कम्युनिस्टहरूसँग नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टी र कार्यगत एकता गर्न तयार छ । तथापि संसदीय व्यवस्था अंगालेका कम्युनिस्टसँग एकताको सम्भावना देखिँदैन । उनीहरू क्रान्ति र आन्दोलनबाट च्युत भइसकेको छन् । ती दलहरूबाट पार्टी र कार्यगत एकताको लागि प्रस्ताव नआएको होइन । तर, त्यसलाई हामीले स्वीकारेका छैनौँ ।’
विप्लवको यो भनाइले क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको नेकपा (वैज्ञानिक समाजवादी) लगायतका कम्युनिस्ट दलसँग मोर्चा तथा पार्टी एकता गर्ने सक्ने बुझिन्छ । तर, संसदीय व्यवस्था अंगालेका नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा (राजमो) लगायतका अन्य कम्युनिस्टसँग एकताको सम्भावना नरहेको प्रष्टै छ ।
पत्रकार सम्मेलनमै विप्लवले क्रान्तिकारी कम्युनिस्ट आन्दोलन, वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्नेसँग एकता गर्ने, मुद्दा मिल्नेसँग संयुक्त मोर्चा र कार्यगत एकता गर्ने नीतिलाई पार्टीले कार्यान्वयन गर्ने निर्णयसमेत भएको बताए ।
यो निर्णय उक्त सम्मेनमार्फत सार्वजनिक गर्नुपूर्व नेकपा महासनिव विप्लव र प्रवक्ता खड्ग विश्वकर्मा ‘प्रकाण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका थिए । विप्लवसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले पार्टी एकताको प्रस्ताव गरेको प्रकाण्डले बताए ।
उनले भने, ‘प्रधानमन्त्रीजीले माओवादी केन्द्र र नेकपाबीच एकता नै आजको आवश्यकता भएको प्रष्ट पार्नुभयो । उहाँले आफू यतिबेला निकै संकटमा परेकोले कम्युनिस्टहरूसँग एकता गर्नुपर्छ । हाम्रो एकताले कम्युनिस्ट आन्दोलनलाई बल पुग्छ, प्रधानमन्त्रीले भन्नुभयो । यस विषमा हामीले छलफल गरेका छैनौँ ।’
एमाले अध्यक्ष ओलीसँगको भेटमा नेकपालाई पार्टी एकताको प्रस्ताव गर्नुभयो भन्ने प्रश्नमा प्रवक्ता भन्छन्, ‘उहाँले प्रत्यक्ष रूपमा एमालेसँग नेकपालाई एकता गर्रौँ त भन्नु भएको छैन । तर, उहाँको भित्री मनसाय पार्टी एकता गर्ने नै देखिन्छ । एमालेसँग हाम्रो मोर्चा तथा पार्टीगत दुवै एकता हुँदैन । किनकि तत्कालीन नेकपा माओवादीको जस्तो एमाले क्रान्तिकारी आन्दोलनको हिस्सेदार होइन । बरु एमाले संसदीय व्यवस्थाको आन्दोलनकै एक हिस्सा हो ।’
विगत केही सातायता नेकपाका शीर्ष नेताहरू तत्कालीन माओवादीबाट विभाजन भएका दलका नेताहरूसँग भेटवार्ता गरिरहेको सेत बताउँछ । उनीहरूले मोहन वैद्य ‘किरण’, आहुति, धमेन्द्र बाँस्तोला लगायतका नेताहरूसँग बाक्लो भेटवार्ता गर्दै आएका छन् । तर, महासचिव र प्रवक्ताले यी नेतासँग भेट नरेको स्रोतले प्रष्ट पार्यो ।
नेकपाले विचार मिल्नेसँग मोर्चा तथा पार्टीगत एकता गर्ने नीति पारित गरे पनि तत्काल कुन कम्युनिस्ट पार्टीसँग एकता गर्ने प्रष्ट पारेको छैन ।
माओवादी केन्द्र, नेकपा (एस) र जसपाको एकता कति सम्भव ?
प्रमुख सत्ता सझेदार दल नेकपा (माओवादी केन्द्र)सँग पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र उपेन्द्र यादव नेतृत्वको मधेसवादी दल जनता समाजवादी पार्टी (जसपा) नेपालले एकता गर्ने चर्चा चलेको छ ।
तत्काल एकीकृत समाजवादी र जसपाबीच पार्टी एकता हुने निश्चित भईसकेको छ । एकताका लागि दुवै दलका शीर्ष नेताहरूबीच सघन छलफल भईरेको पूर्वमन्त्री तथा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा बताउँछन् । उनका अनुसार, ‘पार्टी एकताको प्रक्रिया झन्डै साठ्ठी प्रतिशत पूरा भएको छ । यसलाई पूर्णता दिन केही अड्चनको फुवाऊ अभ्यासमै छौँ । त्यसपछि पार्टी एकता हुन्छ ।’
उता माओवादी केन्द्रसँग पनि एकीकृत समाजवादी र जसपाको एकताको चर्चा कायमै छ । तर, जति एकीकृत समाजवादी र जसपाको एकताको प्रक्रिया टुंगिँदै आएको छ, त्यसरी माओवादी केन्द्रसँग नभएको जसपाका नेताहरू बताउँछन् भने एकीकृत समाजवादीका नेताहरूको भनाइ पनि उस्ते छ ।
माओवादी केन्द्रका नेताहरू एकीकृत समाजवादी र जसपासँग एकता हुने निश्चित नै भए पनि निष्कर्षमा पुग्न नसेको बताउँछन् । बेला–बेला तीनै दलका शीर्ष नेताहरूबीच आपसी भेटवार्ता हुने गरे पनि एकताको चर्चामात्रै भएको उनीहरू स्वीकार्छन् ।
माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार, ‘अहिलेको आवश्यकता कम्युनिस्टहरू एक हुनु नै हो । तथापि कम्युनिस्टबीचको मतभेद, वैमनश्यता र आत्मकेन्द्रित प्रवृतिले भएको एकता पनि भत्किँदै आएका छन् । हिजो एमाले र माओवादी केन्द्रको एकता पश्चात् सबैभन्दा ठूलो दल नेकपा बन्न पुग्यो । तर, यसले दीर्घ जीवन पाउन सकेन । अब एकता हुने कम्युनिस्टहरूको हविगत यसो नहोस् भन्नका लागि एकताको फेजमै हामी सजग हुन्छौँ ।’
यद्यपि महासचिव गुरुङले नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) नेपालसँग एकताको विषयमा भने प्रष्ट पारेनन् । बरु उनले कम्युनिस्टहरूको एकताको आवश्यकतालाई जोडदिए ।