काठमाडौँ। नेपाल चिकित्सक संघले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला स्वास्थ्यकर्मीमाथिको गरिएको लाठीचार्जको घटनाबाट गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
संघले आज एक विज्ञप्ति जारी गरी माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहमाथि राष्ट्रपतिको सवारीका बेला प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको भन्दै सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
संघले स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि भीभीआइपीको सुरक्षाका नाममा प्रहरीद्वारा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइनु र हजारौंको संख्यामा सेवा लिन आइरहेका बिरामीहरुलाई समेत अस्पतालमा पुग्न नदिएर अलपत्र पारी अत्यन्तै दुराअवस्था सिर्जना गरिएकोप्रति स्तब्ध भएको जनाएको छ ।
लोकका लागि स्थापित गरिएको लोकतान्त्रिक गणतन्त्रमा नागरिकलाई सास्ती दिने काम भएको भन्दै संघले सवारीको नाममा अस्वभाविक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै घण्टौ जाम गरेर दैनिक जीवन यापनमा अत्यन्तै असहज परिस्थितिको सिर्जना गर्नु न्यायोचित नभएको जनाएको छ ।
गणतन्त्र नेपालमा यो वा त्यो बहानामा दुःख, सास्ती र अस्वभनीय कार्य सदाका लागि बन्द गर्न समेत संघले सरकार र सरोकारवाला निकायसँग जोडदार माग गरेको छ ।
शुक्रबार राष्ट्रपति भण्डारीको सवारीका क्रममा वीर अस्पताल अगाडि प्रहरीले डाक्टर सिंह र अन्य स्वास्थ्यकर्मीमाथि लाठि चार्ज गरेको थियो । लाठिचार्जका क्रममा घाइते भएका डा।सिंह अहिले अस्पतालमा उपचाररत छन् ।