काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधानको रक्षक भएकाले राष्ट्रपतिमा साझा व्यक्तित्व हुनुपर्छ भन्नेमा आफू र आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन् ।
पार्टीको बिहीबार भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले विगतको अभ्यासका आधारमा हेर्दा पनि मुलुकको प्रमुख व्यक्तित्व सबैको साझा हुनुपर्छ भन्नेमा आफूहरू प्रष्ट रहेको बताए ।
विगतमा भएका त्रुटिहरूप्रति सचेत रहँदै राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ भन्नेमा आफूहरू स्पष्ट रहेको प्रचण्डले बताएको केन्द्रीय सदस्य मनोहरी तिमिल्सिनाले बताए ।
बैठकमा महासचिव देवप्रसाद गुरुङले हालै सम्पन्न स्थायी समितिको बैठकले गरेका निर्णयका बारेमा आफ्नो धारणा राखेका थिए ।
अध्यक्ष दाहालले समसामयिक राजनीतिक विषयका साथै पार्टीका स्थायी समितिले गरेको निर्णयका बारेमा प्रष्ट पारेका थिए । उनले पार्टीले आगामी दुई महिनासम्म सञ्चालन गर्ने अभियानका बारेमा उल्लेख गरेका थिए ।